चीनमा गई चिकित्साशास्त्र अध्ययन गरेका डाक्टरहरुले भोलि काठमाडौँमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गर्दैछन् । वौद्धमा रहेको स्तुपा सामुदायिक अस्पतालमा भोलि शनिबार नि:शुल्क स्वास्थ्य शिविरको आयोजना अरनिको समाजले गर्ने भएको छ । स्वास्थ्य शिविरको उद्घाटन भोलि बिहान 9 बजे नेपालका लागि चिनियाँ राजदूत च सियाङ्ग लनले गर्नुहुनेछ ।
दस हजारभन्दा बढी नेपालीहरुले नि:शुल्क स्वास्थ्य परीक्षण तथा औषधि पाउने सो शिविरको तयारी कार्य पूरा भएको अरनिको समाजका अध्यक्ष डा. हरिश्चन्द्र शाहले सि.आर.आई.लाई बताउनुभयो । काठमाडौँको गौशाला, बौद्ध, जोरपाटी, चावहिल, मूलपानी, गोठाटार, गोकर्ण आदि ठाउँहरुमा हजारौँ पर्चा बाँडिएको, तुलव्यानर टाँगिएको बताउँदै हजारौँ व्यक्तिहरुलाई स्वास्थ्य शिविरको जानकारी गराइएको उहाँले बताउनुभयो ।
अरनिको समाज चीनमा अध्ययन गरेर नेपाल फर्किएका व्यक्तिहरुको संस्था हो । अरनिको समाजका अध्यक्ष डा. हरिश्चन्द्र शाहले सि.आर.आई.लाई बताउनुभए अनुसार चीनबाट चिकित्साशास्त्रमा विशेषज्ञता हासिल गरेका 50 जना डाक्टरहरु स्वास्थ्य शिविरमा संलग्न रहनेछन् । अक्युपन्चर, मुटु, क्यान्सर, टिवी, रगत तथा स्त्रीरोग आदिका बारेमा स्वास्थ्य परीक्षण गरी औषधि नि:शुल्क रुपमा उपलब्ध गराइनेछ ।
चीनमा अध्ययन गरेका डाक्टरहरुले नेपालको स्वास्थ्य सेवामा गुणस्तरीय सेवा प्रदान गर्दै आएका छन् । वर्षेनी सयौँ नेपाली विद्यार्थीहरुले चीनमा छात्रवृत्त पाएर तथा निजी स्रोतबाट पनि चीन गएर उच्च शिक्षा ग्रहण गर्ने गरेका छन् । वीर अस्पताल, गंगालाल हृदय केन्द्र, शिक्षण अस्पताल जस्ता नामी अस्पताल लगायतका नेपालका सबै अस्पतालमा चीनबाट दीक्षित चिकित्सकहरु कार्यरत रहेका छन् ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|