चीनले नेपालको सीमासम्म मात्र होइन नेपालको राजधानी काठमाडौँसम्म नै रेलमार्गको विकास गर्न सक्ने नेपालका लागि चिनियाँ राजदूत चङ्ग सियाङलिनले बताउनुभएको छ । काठमाडौँबाट हालै प्रकाशन भएको 'नेपाल' साप्ताहिकलाई राजदूत सियाङलिनले दिनु भएको अन्र्तवार्तामा सो कुरा उल्लेख भएको हो । चिनियाँ राजदूत सियाङलिनले चिनियाँ जनता र चीन सरकार सधैँ नेपालको हित र भलाइमा रहेको सो अन्तर्वार्तामा व्यक्त गर्नुभएको छ ।
नेपालको सरकार र नेपाली जनताले चिनियाँ रेल नेपालको सीमासम्म आइपुगोस् र चिनियाँ पेट्रोलको नेपालमा आयात होस् भन्ने चाहना राखेको उल्लेख गर्दै चिनियाँ राजदूत चङ्ग सियाङलिनले अन्तर्वार्तामा भविष्यमा चिनियाँ रेल खासासम्म मात्र होइन काठमाडौँसम्मै आइपुग्ने संभावनाको उल्लेख गर्नुभएको छ । उहाँले छिन्हाइ तिब्बत रेलमार्गलाई संसारले असंभव भनेको तर चिनियाँ जनताले त्यसलाई सम्भव बनाएको उल्लेख गर्दै चिनियाँ रेल काठमाडौँ आइपुग्नु पनि भविष्यका लागि त्यति ठूलो कुरा नभएको बताउनुभएको छ । चिनियाँ पेट्रोललाई नेपालमा आयात गर्ने बारेमा थुप्रै कठिनाइ भएको औँल्याउँदै तर असंभव भने नभएको उहाँको धारणा छ । चार हजार मिटरभन्दा अग्लो भूभागमा पेट्रोलको पाइप ओछ्याउँदा तथा हजारौ किलोमिटरको दूरीबाट प्रट्रोल ल्याउँदा थुप्रै समस्या आइपर्ने भए पनि दुई देशबीचको मित्रताले त्यसलाई संभव बनाउनसक्ने उहाँले व्यक्त गर्नुभएको छ ।
चीन सरकारले नेपाललाई हालै सहयोग स्वरुप दिएको 13 अर्ब रुपैयाँले नेपालको राजनीतिक स्थायीत्व, विकास र शान्ति स्थापनामा सहयोग गर्ने बताउँदै उहाँले सो सहयोगको व्यवहारिक पक्ष हेरेर सहयोगलाई बढाउँदै लगिने पनि बताउनुभएको छ ।
नेपालको उत्तरी भेगमा पर्ने कालापानीमा भारतीय सेना बसेको र त्यसको समाधानमा चिनियाँ भूमिकाका बारेमा सोधिएको प्रश्नमा राजदूत सियाङलिनले नेपाल र भारतले मैत्रीपूर्ण रुपमा समस्याको समाधान गर्नसक्ने र गर्नुपर्ने बताउनुभएको छ । चीनले कहिल्यै पनि अर्काका आन्तरिक मामिलामा हस्तक्षेप गर्ने नीति नलिएको दोहोर्याउँदै चिनियाँ राजदूत सियाङलिनले संविधानसभाको निर्वाचनले नेपालमा शान्ति र स्याथित्व आउने विश्वास प्रकट गर्नुभएको छ ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|