नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई जनस्तरसम्म पुर्याउने काम चीनमा अध्ययन गरेर फर्किएका नेपाली विद्यार्थीहरुले गरिरहेको नेपालका लागि चिनियाँ राजदूत चङ्ग सियाङलिनले बताउनुभएको छ ।
अरनिको समाजले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै चिनियाँ राजदूतले सो कुरा व्यक्त गर्नुभएको हो । काठमाडौँको बौद्धमा रहेको स्तुपा सामुदायिक अस्पतालमा गत शनिबार आयोजित नि:शुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै राजदूत चङ्ग सियाङलिनले भन्नुभयो "नेपाल र चीनबीचको मैत्री सम्बन्ध युगौँ पुरानो छ र यो जनस्तरसम्म झाँगिएको छ ।"
नेपाली विद्यार्थीहरुले चीनमा गएर हासिल गरेको प्राविधिक ज्ञानले नेपालको विकासमा ठूलो महत्व राख्ने बताउँदै उहाँले चीनमा पढेका नेपाली डाक्टर र इन्जिनियरहले नेपालको विकासमा मेरुदण्डको काम गरेकोमा खुशी प्रकट गर्नुभयो । स्वास्थ्य शिविर आयोजना गर्नुपर्ने कुरामा प्रकाश पार्दै स्तुपा सामुदायिक अस्पतालका अध्यक्ष डा. रितुप्रसाद गड्तौलाले चीनमा पढेका डाक्टरहरुले नेपाली जनतालाई नि:शुल्क स्वास्थ्य परीक्षण गराउने तथा औषधि वितरण गर्ने कार्यको प्रशंसा गर्नुभयो । नेपालको अशल छिमेकी राष्ट्र चीनको छविलाई त्यही अध्ययन गरेका चिकित्सकहरुले जनस्तरसम्म पुर्याउने कामको एउटा नमूना नि:शुल्क स्वास्थ्य शिविर भएको डा. गड्तौलाको धारणा थियो ।
स्वास्थ्य शिविरको उद्घाटनमा आफ्नो धारणा राख्तै अरनिको समाजका अध्यक्ष डा. हरिश्चन्द्र शाहले परम्परागत चिनियाँ चिकित्साशास्त्र र उपचार पद्धत्तिनेपाल र नेपालीहरुका लागि पनि उपयोगी भएको बताउनुभयो । चीनमा पढेर फर्किएका नेपाली डाक्टर र इन्जिनियरले नेपालको प्राविधिक क्षेत्रमा र नीति निर्माणका क्षेत्रमा पनि काम गरिरहेको बताउँदै डा. शाहले भन्नुभयो "नेपालको नजिकै भएको हुनाले चीनमा चिकित्साशास्त्र पढ्नु बढी व्यवहारपयोगी छ ।"
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|