इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव एवम् आणविक समस्यासम्बन्धी प्रथम वार्ताकार साइद जालिलि चीनको दुइ दिने भ्रमणका लागि आज चीन आइपुग्नुभयो। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्यांग युले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिनुभएको हो।
प्रवक्ता च्यांग युका अनुसार, भ्रमण अवधिमा चीन र इरानले द्वीपक्षीय सम्बन्ध तथा इरानको आणविक समस्याबारे विचार-विमर्श गर्ने छन भने चीनको राज्य परिषद्का सदस्य थांग च्या श्वेन, परराष्ट्र मन्त्री यांग चे छले श्री जालिलिसँग भेट-वार्ता गर्नुहुने कार्यक्रम छ।
प्रवक्ता च्यांग युले इरानको आणविक समस्यामा चीनको अडान अन्तर्राष्ट्रिय आणविक अप्रसार प्रणालीको संरक्षण गर्नु, मध्य-पूर्व क्षेत्रको शान्ति तथा स्थिरताको संरक्षण गर्नु, शान्तिपूर्ण तरिकामार्फत इरानको आणविक समस्याको समाधान गर्नु रहेको कुरा दोहर्याउनुभयो।
|