चिनियाँहरुको महान् चाड बसन्त पर्वका अवसरमा आज साँझ अरनिको समाजले एक सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको हो। आज साँझ काठमाडौँको याक एण्ड यति होटलमा नेपाली तथा चिनियाँ कलाकारहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन्।
अरनिको समाजका अध्यक्ष डा. हरिश्चन्द्र शाहले सि.आर.आई.लाई बताउनुभए अनुसार वसन्त चाडका अवसरमा शुभकामना आदानप्रदान गर्नका लागि आयोजना गरिने सो कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पृथ्वी सुब्बा गुरु हुनुहुनेछ भने नेपालका लागि चिनियाँ राजदूत च सिया猯लन विशेष अतिथि रहनु हुनेछ । चिनियाँ नयाँ वर्षसँगै मनाइने वसन्त चाड चिनियाँहरुको सबैभन्दा ठूलो चाड हो । नेपालको अशल छिमेकी राष्ट चीनको यस महान् चाडका अवसरमा नेपालीहरु पनि रमाउने र एक अर्कामा शुभकामना आदानप्रदान गर्ने कुराको थालनी भएको छ । वसन्त चाडका अवसरमा चिनियाँ नागरिकको घरआँगन तथा सहर बजार नेपालीको दिपावलीजस्तै झकिझकाउ र सजिसझाउ हुने गर्दछ । यसैगरी चिनियाँहरु बस्ने काठमाडौँका घर तथा व्यावसायिक भवनहरुमा समेत वसन्त चाडको रङ्गिचङ्गि सजावट देखिन थालेको छ ।
खुशी र उमङ्गको वसन्त चाडमा नेपाली संगीत तथा चिनियाँ संगीत एवं शुभकामनाका कोशेलीले नेपाली र चिनियाँ साझा संस्कृतिको विकास गराउन खोजिएको अरनिको समाजका अध्यक्ष डा. शाहले बताउनुभयो । डा. शाहका अनुसार हरेक वर्ष अरनिको समाजले वसन्त चाडका उपलक्ष्यमा कार्यक्रमको आयोजना गर्ने गरेको छ ।
यसैबीच सि.आर.आई.श्रोता कल्बहरुको राष्ट्रिय परिषद नेपालले पनि आगामी फेब्रुअरी दुई तारिख शनिबार एक कार्यक्रमको आयोजना गरी वसन्त चाड मनाउने भएको छ । राष्ट्रिय परिषदका कार्यवाहक अध्यक्ष टिकाराम घिमिरेले दिनु भएको जानकारी अनुसार शनिबार आयोजना गरिने कार्यक्रम विचार गोष्ठीको रुपमा हुनेछ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|