नेपाल भ्रमणमा रहेको चिनियाँ सुरक्षाकर्मीहरुको प्रतिनिधिमण्डलले नेपालका सुरक्षा निकायका प्रमुखहरुसँग भेटघाट गरेको छ । चिनियाँ प्रहरी टोलीका मेजर जनरल तथा प्रतिनिधिमण्डलका नेता च्याङस्याङले नेतृत्व गर्नुभएको 12 सदस्यीय चिनियाँ सुरक्षा अधिकारीहरुको प्रतिनिधि मण्डल नेपाल भ्रमणमा रहेको छ ।
चिनियाँ प्रतिनिधिमण्डलले प्रहरी प्रधान कार्यालय नक्सालमा नेपालका सुरक्षा प्रमुखहरुलाई भेट गरेको हो । गत बुधबार नेपाल र चीनबीचको द्वीपक्षीय सुरक्षासम्बन्धमा भेटघाट भएको कुरा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक रवि श्रेष्ठले सि.आर.आई.लाई बताउनुभयो ।
नेपाल र चीनबीचको सिमानामा शान्तिसुरक्षा सम्बन्धी आ–आफ्ना देशका सुरक्षा निकायले चाल्नुपर्ने कदमका बारेमा अन्तर्क्रिया समेत भएको कुरा अतिरिक्त प्रहरी महानिरीक्षक श्रेष्ठले बताउनुभयो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक रवि श्रेष्ठ, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक किशोर लामा, प्रहरी नायव महानिरीक्षकय शारदाभक्त रञ्जित र सुरेन्द्र पाल लगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतहरु सहभागी भएका थिए ।
नेपाल र चीनबीचमा परम्परादेखि नै अत्यन्त घनिष्ट तथा न्यानो सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशका सुरक्षा निकायको नियमित भेटघाटका रुपमा यो भेटघाट भएको श्रेष्ठले बताउनुभयो । उहाँले बताउनु भए अनुसार दुवै देशको सीमा सुरक्षालाई व्यवस्थित गर्ने, व्यापारिक नाकालाई आधुनिक प्रविधिसम्पन्न बनाउने तथा अपराध नियन्त्रण गर्ने कुरामा पनि छलफल भएको छ ।
दुवै देशका सुरक्षा निकायका अधिकारीहरुको भेटघाटका क्रममा नेपाली सुरक्षा व्यवस्थामा चिनियाँ सहयोगका बारेमा पनि कुरा उठेको बताउँदै यस बारेमा चिनियाँ पक्ष सकारात्मक रहेको अतिरिक्त प्रहरी महानिरीक्षक रवि श्रेष्ठले बताउनुभयो ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|