राजनीतिक स्थिरता तथा दिगो बिकासका लागि चीनबाट नेपालले धेरै कुरा सिक्न सक्ने नेपालका प्रतिष्ठित बुद्धिजीवी तथा सामाजिक कार्यकर्ताहरुले बताएका छन्। चालु चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समितिको नियमिति अधिवेशन तथा चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको एघारौँ राष्ट्रिय समितिको पहिलो अधिवेशनको महत्व बारे सि.आर.आई.सँग कुरा गर्दै विभिन्न संस्थाका व्यक्तिहरुले सो कुरा व्यक्त गरेका हुन्।
गैर सरकारी महासंघका केन्द्रीय सदस्य अर्जुन भराईले चीनमा चालु दुवै अधिवेशनले नयाँ चीनको अर्थतन्त्रलाई मजबुत बनाउँदै समाजवादलाई अगाडि बढाउने प्रसंशनीय कार्य गरेको बताउनुभयो। उहाँले नेपालमा पनि राजनीतिक स्थिरता र स्थायीत्व भयो भने संभव हुने बताउँदै चीनबाट नेपालले सिक्नसक्नु पर्ने धारणा राख्नुभयो ।
स्थानीय विकास एकीकृत समाज सोलिड नेपालका कार्यकारी निर्देशक डा. खेम कार्कीले चीनमा चालु दुवै अधिवेशनमा किसान तथा मजदुरको साँचो प्रतिनिधित्व भएको बताउँदै संसारमा सबैभन्दा राम्रो प्रजातन्त्र चीनमा भएको बताउनुभयो। उहाँले भन्नुभयो हामीले पनि जनतालाई साँचो रुपमा संसदमा प्रतिनिधित्व गराउन सकियो भने संविधानसभाको सार्थकता हुन्छ। त्यसकारण हामीले चिनियाँ दुवै अधिवेशनबाट सिक्नुपर्छ।
चीन अध्ययन केन्द्रका कोषाध्यक्ष तथा सगरमाथा मल्टिपल कलेजका अध्यक्ष गंगाप्रसाद उप्रेतीले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले महान उपलब्धी हासिल गरेको बताउनुभयो। एक्काईसौँ शताब्दीमा चीनले हासिल गरेको सफलताको मुख्य कडी भनेको त्यहाँको चिनियाँ राष्ट्रिय जनकंग्रेस तथा जनराजनीतिक परामर्शदात्री सम्मेलनले लिएको साँचो नेतृत्व हो भनेर भन्नुभयो।
नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसनका सचिव हेमराज रानाभाटले दुवै अधिवेशन सफलतातिर उन्मुख रहेको बताउँदै सवल नेतृत्व र स्पष्ट नीतिले राष्ट्रलाई सही मार्गमा लान सक्छ भन्ने उदाहरण चीनमा स्थापित भएको बताउनुभयो । रानाभाटले भन्नुभयो हामी चीनको छिमेकी राष्ट भएको हुनाले धेरै कुरा चीनबाट सिक्न सक्छौँ । चिनियाँ राष्ट्रिय जनकंग्रेस र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन जस्ता ठूला चिनियाँ संस्थाको चालु अधिवेशनले नेपाललाई पनि प्रेरणा र हौसला दिनुपर्छ ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|