एकातिर पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ भने अर्कोतिर सर्वसुलभ छैन। घण्टौँसम्म लाम लागेर महङ्गो पेट्रोल लिएर मोटर साइकल चलाउनुभन्दा बेट्रीबाट चल्ने साइकल चलाउनु उचित ठाने भक्तपुरका विकासश्रेष्ठले।
अहिले काठमाडौँमा बिकासश्रेष्ठजस्तै विद्युतीय चिनियाँ साइकल चलाउनेहरु सडकमा थुप्रै भेटिन्छन्। चीनमा बनेको विद्युतबाट चल्ने साइकल सस्तो, सजिलो र भरपर्दो छ। लगभग चार घण्टा बेट्री चार्ज गरेपछि दिनभर चलाउन सकिने यस्ता साइकलको मूल्य 28 देखि 35 हजार नेपाली रुपैयाँसम्म रहेको चिनियाँ साइकलका बिक्रेता रमेश बाँस्कोटाले सि.आर.आई.लाई बताउनुभयो। गतवर्षदेखि मात्र नेपालमा आएको विद्युत्तीय साइकललाई चलाउन लाइसेन्स चाहिन्छ कि चाहिँदैन भन्ने केही विवाद भएपनि नेपाल सरकारले लाइसेन्स नचाहिने व्यवस्था गरेपछि भने सर्वसाधारणका लागि चिनियाँ विद्युत्तीय साइकल अझै लोकप्रिय हुन पुग्यो।
चीनबाट सबै पार्टपुर्जा आएर भक्तपुरको ठिमीमा रहेको गोदाममा साइकल तयारी हुने गर्दछ। काठमाडौँ उपत्यकाका लागि अनामनगरमा एउटा बिक्रीकक्ष खोलिएको छ भने पूर्व झापादेखि पश्चिम महेन्द्रनगरसम्म यसका बिक्रीकक्षहरु खुलेका छन् । काठमाडौँ उपत्यका विक्रीकक्षाका रमेश बास्कोटा बजारको माग अनुसार साइकलको पूर्ति गर्न नसकिएको बताउनुहुन्छ। अनामनगरको बिक्रीकक्षमा राखिएका सबै साइकलको बिक्री भइसकेको छ। नयाँ क्रेताले झण्डै दुई महिना पर्खनुपर्ने बिक्रेता बास्कोटा बताउनुहुन्छ।
महिला तथा पुरुष सबैलाई चलाउन सजिलो हुने, काठमाडौँजस्तो अत्यधिक ट्रोफिक जाम हुने ठाउँमा उपयोगी हुने तथा पच्चीसदेखि तीस किलोमिटर प्रतिघण्टा गति भएको यो साइकल सहरी क्षेत्र तथा पहाडी क्षेत्र सबत्र उपयोगी देखिन्छ। बाटोमा चलाउँदा चलाउँदै बेट्री सिद्धियो भने पनि पाइडल चलाएर सजिलैसँग गन्तव्यस्थल पुग्न सकिन्छ। नेपालीहरुको आर्थिक स्तर तथा समयसमयमा भोग्नुपर्ने पेट्रोलियम पदार्थका समस्यामा कारण चिनियाँ विद्युतीय साइकलले भविष्यमा पनि राम्रो बजार लिने संभावना बोकेको छ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|