नेपालको भूमिबाट चीन बिरोधी गतिविधि भएकोमा चिन्ता प्रकट गर्दै ध्यानाकर्षण गराउन राजदूत च सियाङ्ग लिनले प्रधानमन्त्रीसँग भेट गर्नु भएको हो। आज बिहान 9 बजे चिनियाँ राजदूत सियाङ्ग लिन प्रधानमन्त्री निवास वालुवाटार पुग्नु भएको थियो।
चिनियाँ दूताबासको प्रेस तथा राजनीति विभागका प्रवक्ता सान युडोले सि.आर.आई.लाई जानकारी गराउनु भए अनुसार प्रधानमन्त्री र राजदूतबीचमा अलगभ 45 मिनेट अत्यन्त सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको थियो। राजदूत सियाङ्ग लिनले नेपालको भूमिबाट स्वतन्त्र तिब्बतका नाममा विभिन्न गतिविधि भएकोमा चिन्ता प्रकट गर्नुभएपछि प्रधानमन्त्री कोइरालाले त्यस्ता गतिविधि हुन नदिन नेपाल सरकार सजग रहेको तथा कारवाही भइरहेको बताउनुभयो। प्रधानमन्त्री कोइरालाले चिनियाँ राजदूतलाई नेपाल सरकार एक चीनको नीतिप्रति अडिग रहेको दोहोर्याउनुभयो।
संविधानसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराएकोमा राजदूत सियाङ्ग लिनले चिनियाँ सरकारको तफबाट प्रधानमन्त्री कोइरालालाई बधाई पनि दिनुभयो।
यसैबीच चिनियाँ सरकारले माथिल्लो त्रिशूली जलविद्युत आयोजनकाकालागि 20 करोड अमेरिकी डलर ऋण दिने भएको छ। यस सम्बन्धमा चिनियाँ दूताबासले अगिल्लो हप्तामा अर्थ मन्त्रालयलाई पत्र पठाइ सम्झौता गर्न आमन्त्रण गरेको छ। यो ऋणको व्याजदर वार्षिक एक दशमलव 75 प्रतिशत कायम गरिएको छ।
संविधानसभाको निर्वाचन सम्पन्न हुनासाथ चिनियाँ सरकारले सस्तो व्याजदरमा नेपाललाई ऋण दिने निर्णय गरेको हो। माथिल्लो त्रिशूली ए जलविद्युत 60 मेघावाट क्षमताको हुनेछ। माथिल्लो त्रिशूली ए सहित 3 बी निर्माणका लागि नेपाल सरकारले चीनसँग ऋण सहयोगको अनुरोध गरेको छ। त्रिशूली 3 बी 40 मेगावाट क्षमताको छ। चिनियाँ सरकारले ऋणसँगै चिनियाँ एकल वा नेपालीसँग साझेदार भएको संयुक्त कम्पनीको नाम पनि मनोनयन गरेर पठाउन भनेको छ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|