ओलम्पिक खेलकुदको पवित्र राँको आज विहान सगरमाथाको चुचुरोमा पुर्याइयो। त्यसपछि चीनका लागि नेपाली राजदूताबासले एउटा पत्रकार सम्मेलनको आयोजना गर्यो। सो अवसरमा चीनका लागि नेपाली राजदूत टंक प्रसाद कार्कीले चिनियाँ पत्रकारसमक्ष एउटा प्रेस वक्तव्य जारी गर्नुभएको छ।

सो प्रेस वक्तव्यमा उहाँले आजको दिन सगरमाथाको चुचुरोमा ओलम्पिक मशाल पुर्याउने कामका निम्ति ओलम्पिक कमिटी तथा जनवादी गणतन्त्र चीन सरकार तथा यहाँका जनताको असाधारण उपलव्धिको शुभ मुहुर्त हो भन्दै त्यस सफल आरोहण ओलम्पिक आदर्शको इतिहासमा कोरिएको सुनौलो अध्याय पनि हो भन्नुभयो।

यसका साथै, उहाँले सीमा जोडिएको एक छिमेकी र हितैसी मित्रको हैसियतमा नेपालले पैचिङ्ग ओलम्पिकको तयारीको प्रारम्भिक दिनदेखि नै त्यस कामका निम्ति पूर्ण समर्थन गर्दै त्यसको सफलताको शुभकामना व्यक्त गरेको छ भन्दै नेपालले आफ्नो बुताले भ्याएसम्म शिखरसम्म पुग्ने ओलम्पिक मशालको निर्विध्न यात्राको निम्ति आवश्यक सहयोग र प्रबन्ध गरेको कुरा पनि औंल्याउनुभएको छ।
|