नेपालकै सबैभन्दा ठूलो र महत्वाकांक्षी खानेपानी आयोजना मेलन्चीको 26 किलोमिटर लामो सुरु खन्ने काम चिनियाँ कम्पनीहरुको हातमा पुगेको छ। सुरु निर्माण गर्नका लागि बोलपत्र आव्हान गरिएकोमा चारवटा चिनियाँ कम्पनीले मात्र वोलपत्र पेश गरेका छन्। बोलपत्र पेश गर्ने चिनियाँ कम्पनीहरुमा चाइना इन्टरनेसनल वाटर एण्ड इलेक्टिक कर्पोरेसन, चाइना ओभरसिज इन्जिनियरि कम्पनी लिमिटेड, टान्सटिङ्ग इन्जिनियरिङ्ग र चाइना रेल्वे फिपटिन ब्युरो कम्पनी रहेका छन्।
मेलन्ची खानेपानी विकास समितिले हिजो बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराएको हो। मेलन्ची आयोजनाको सुरु खन्नका लागि एसियाली विकास बैँकले 13 करोड 70 लाख अमेरिकी डलर ऋण सहायता दिने पहिले नै निर्णय गरिसकेको छ।
एसियाली बिकास बैँकले ऋण सहायता दिने निर्णय गरेपछि तुरुन्तै मेलन्ची खानेपानी विकास समितिले 26 किलोमिटर लामो सुरु खन्नका लागि अन्तर्राष्ट्रिय बोलपत्र आव्हान गरेको थियो। समितिले आव्हान गरेको बोलपत्र अनुसार अन्तर्राष्ट्रिय कम्पनीहरुमध्ये चिनियाँ कम्पनीले मात्र बोल पत्र पेश गरेको कुरा पत्रकार सम्मेलनमा जानकारी गराइयो। अहिले बोलपत्रमा आएका प्रस्तावकको मूल्यांकन भइरहेको र अब दुई महिनाभित्र कम्पनीको छनोट गरी आयोजनाको सुरु खन्न जिम्मा दिने समितिका अध्यक्ष एवं भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव पूर्ण कँडरियाले सि.आर.आई.लाई बताउनुभयो।
मेलन्ची खानेपानी विकास समितिले हालसम्म आयोजनाको 16 प्रतिशत काम सम्पन्न गरिसकेको छ। आयोजना स्थलसम्म पुग्ने मोटर बाटो, अत्यावश्यक पूर्वाधार निर्माण तथा आयोजनाको डिजाइन आदि कार्यमा समितिले 4 अर्ब 60 करोड रुपैयाँ खर्च गरिसकेको छ। मेलन्ची खानेपानी आयोजन निर्माणमा नेपाल सरकार बाहेक एसियाली विकास बैँक, जापान बैँक अफ इन्टरनेसनल कर्पोरेसन, जाइका, नर्डिक विकास फण्ड र तेल उत्पादक राष्ट्रहरुको संगठन ओपेकको सहयोग रहने भएको छ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|