प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सगरमाथामा ओलम्पिक ज्योति सफलतापूर्व्क पुर्याइएको अवसरमा चीनका राष्ट्रपति हु चिनथाओलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री कोइरालाले नेपाल सरकार, नेपाली जनता र आफू स्वयंका तफबाट चिनियाँ राष्ट्रपति हु, चिनियाँ जनता र चिनियाँ सरकारलाई बधाई दिनु भएको छ ।
राष्ट्रपति हुलाई हिजो बिहीबार पठाउनु भएको सन्देशमा प्रधानमन्त्री कोइरालाले विश्वका अति दक्ष खेलाडीमा हुने उत्कृष्ट खेल भावनाको प्रदर्शनका माध्यमबाट खोलम्पिक ज्योति सदैव शान्ति समझदारी र ऐक्यवद्धताको प्रतीक भइरहेको बताउनुभएको छ ।
चीनमा निकट भविष्यमा आयोजना हुन लागेको ओलम्पिक खेलकूद विश्वमा शान्ति र ऐक्यवद्धताको सन्देश फैलाउने अर्को अवसर हुने आशा पनि प्रधानमन्त्री कोइरालाले बधाई सन्देशमा व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले बधाई सन्देशमा भन्नुभएको छ यस सुखद अवसरमा म सन् 2008 मा बेइजिङ्ग आयोजना हुने गृष्मकालीन ओलम्पिक खेलकूदको भव्य सफलताको कामना गर्दछु ।
यसैबीच प्रधानमन्त्री कोइरालालाई नेपालका लागि चिनियाँ राजदूत च सियाङ्ग लिनले हिजै भेटी सगरमाथामा बेइजि ओलम्पिक ज्योति सफलतापूर्वक पुर्याउन नेपालले गरेको सहयोगका लागि चिनियाँ प्रधानमन्त्री वेन च्यापाओका तफबाट धन्यवाद दिनुभएको छ ।
त्यस अवसरमा प्रधानमन्त्री कोइरालाले चिनियाँ राजदूत समक्ष सगरमाथामा ओलम्पिक ज्योति पुर्याउनु ठूलो गौरवको कुरा भएको र यसबाट नेपाल र चीनको सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार आदित्य बरालले सि.आर.आई.लाई बताउनुभयो ।
ओलम्पिक ज्योतिलाई सगरमाथाको चुचुरोमा पुर्याउने कार्यलाई सहयोग गर्नका लागि नेपाल सरकारले यही मे 1 तारिखदेखि 10 तारिखसम्म सगरमाथा आरोहण गर्न रोक लगाएकामा आजैबाट सगरमाथा आरोहण गर्न खुला गरेको छ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|