चीनको सि छुआन प्रान्तको वन छुआन जिल्लामा हिजो भएको भूकम्पका कारण ठूलो जन-धनको क्षति भएकोमा केही विदेशी सरकार प्रमुख र नेता तथा अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिहरुले चीनप्रति समवेदना व्यक्त गर्नुभएको छ।
जापानका प्रधानमन्त्री फुकुदा यासुओले हिजो चीनका राष्ट्राध्यक्ष हु चिन थाउ र प्रधानमन्त्री वन च्या पाउलाई पत्र पठाई चीनको सि छुआन प्रान्तको वन छुआन जिल्लामा गएको विनाशकारी भूइँचालोका कारण ठूलो जन-धनको क्षति भएकोमा हार्दिक समवेदना व्यक्त गर्नुका साथै प्रकोप प्रभावित क्षेत्रका जनताको जीवन छिटोभन्दा छिटो पुनः सामान्य हुने आशा गर्नुभएको छ।
अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले पनि हिजै एक वक्तव्य प्रकाशित गरी दुर्घटनामा परी मरेका मानिसप्रति श्रद्धान्जली व्यक्त गर्नुका साथै उनीहरुका परिवार र घाइतेहरुलाई सान्त्वना दिनुभएको छ। श्री बुशले चीनलाई उद्धार सहायता दिन अमेरिका तत्पर रहेको कुरा पनि वक्तव्यमा उल्लेख गर्नुभएको छ।
संयुक्त राष्ट्र संघका महासचिव बान कि मूनले हिजो चीनका परराष्ट्रमन्त्री याँग च्ये छसँग टेलिफोन गर्नुभयो। श्री बान कि मूनले संयुक्त राष्ट्र संघको तर्फबाट चीन सरकार र जनतालाई हार्दिक सहानुभूति र समवेदना व्यक्त गर्नुका साथै दुर्घटनामा परी मरेका मानिसप्रति श्रद्धान्जली ज्ञापन गर्नुभयो। साथै उहाँले संयुक्त राष्ट्र संघले सक्दो प्रयास गरी चीनको प्रकोपको उद्धार र पुनर्निर्माण कार्यको समर्थन गर्ने कुरा बताउनुभयो।
जर्मनीका प्रधानमन्त्री आन्केला मेर्केल, उप-प्रधानमन्त्री एवम् विदेशमन्त्री फ्रान्क वाल्टेर स्टेइनमेयर, स्लोभेनियाका प्रधानमन्त्री जानेज जान्सा, अमेरिकाका उप-विदेशमन्त्री जोहन नेक्रोपोन्टे, चीनका लागि रुसका राजदूत सेर्केइ राजोभले पनि चीनप्रति समवेदना व्यक्त गर्नुभएको छ।
|