प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चिनियाँ राष्ट्रपति हु चिन्थाओलाई एक सन्देश पठाई भूकम्पबाट चीनमा भएको धनजनको क्षतिप्रति दु:ख प्रकट गर्दै समवेदना तथा सहानुभूति प्रकट गर्नुभएको छ ।
मध्य चीनको सिचुवान प्रान्तमा गत सोमबार गएको विनासकारी भूकम्पबाट व्यापक धनजनको क्षति भएकोमा नेपाल सरकार र नेपाली जनताको तफबाट चीन सरकार र चिनियाँ जनताप्रति समवेदना तथा सहानुभूति व्यक्त गर्दै प्रधानमन्त्री कोइरालाले हिजो मंगलबार सन्देश पठाउनु भएको हो ।
प्रधानमन्त्री कोइरालाले सन्देशमा नेपाल र चीन अत्यन्त निकटतम मित्र भएको उल्लेख गर्दै वेदनाको यस दु:खद घडीमा चिनियाँ जनताप्रति ऐक्यवद्धता प्रकट गर्नुभएको छ । उहाँले भूकम्पबाट ध्वस्त भएका पूर्वाधारको द्रूत पुन:स्थापनाको कामना पनि सन्देशमा प्रधानमन्त्री कोइरालाले गर्नुभएको छ ।
अप्रत्याशित रुपमा आएको प्राकृतिक विपक्तिको सामना गर्ने चिनियाँ सरकार र जनताको साहसको प्रधानमन्त्री कोइरालाले सराहना पनि गर्नुभएको छ । उहाँले भूकम्पनमा परी ज्यान गुमाएका परिवारजन र आफन्तप्रति गहिरो समवेदना पनि व्यक्त गर्नुभएको छ ।
यसैगरी नेकपा एमालेका कार्यवाहक महासचिव अमृत बोहोराद्बारा प्रेसित विज्ञप्तिमा चीनको सिचुवान प्रान्तमा गएको भूकम्पको क्षतिबाट नेकपा एमाले स्तब्ध भएको जनाइएको छ । विज्ञप्तिमा यस्तो प्राकृतिक विपक्तिको घडीमा नेपाली जनता र नेकपा एमालेको तफबाट चिनियाँ जनता र चीनको कम्युनिष्ट पार्टी तथा सरकारप्रति सहानुभूति प्रकट गरिएको छ । यस्तो दु:खको बेला आफूहरु चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताप्रति ऐक्यवद्धता व्यक्त गर्दछौँ भन्दै विज्ञप्तिमा प्राकृतिक विपतबाट उत्पन्न चुनौतिको सामना गर्न चीनको कम्युनिष्ट पार्टीको नेतृत्वमा चीन सरकार तथा चिनियाँ जनता सफल हुने विश्वास पनि व्यक्त गरिएको छ ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|