चीनको स छुवान वन छुवान जिल्लामा गत बाह्र तारिका दिन प्रचण्ड भूकम्प गएपछि अन्तर्राष्ट्रिय समाजले हालै चीनलाई सात्वना दिनुका साथै उद्धार रकम पनि प्रदान गर्दै आएका छन्। यसका साथै विदेशमा रहेका चिनियाँ प्रवासी तथा चिनियाँ मूलका विदेशीहरु एवम् विदेशी साथीहरुले पनि सक्रियताका साथ भूकम्पबाट प्रभावित क्षेत्रलाई चन्दा दिँदै आएका छन।
दक्षिण अफ्रीका, आर्जेन्टिना, घाना, जिम्बाप्वे, क्यानाडाका राष्ट्रपतिले चीनका राष्ट्राध्यक्ष हु चिन थाऊलाई सात्वना दिनुभयो। मलेशिया, ताजिकिस्तान, फ्रान्स, स्विडन तथा इजिप्टका प्रधान मन्त्रीले चीनका प्रधान मन्त्री वन च्या पाउलाई सात्वना दिनुभयो। हालसम्म मलेशिया सरकारले पन्ध्र लाख अमेरिकी डलर बराबर सहायता दिने निर्णय गरेको छ। अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीमार्फत दश लाख अस्ट्रेलिय डलर बराबर सहायता दिएको छ। इटली सरकारले पाँच लाख यूरो तथा उद्धार सामग्री प्रदान गरेको छ। फिन्ल्याण्ड सरकारले अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीमार्फत पाँच लाख यूरो बराबर सहायता दिएको छ।
यसका साथै विदेशमा रहेका चिनियाँ मूलका प्रवासी तथा चिनियाँ विद्यार्थीहरुले पनि भूकम्पबाट प्रभावित क्षेत्रलाई चन्दा दिँदै आएका छन्। अमेरिका-चीन वाणिज्य संघले हिजो एक लाख अमेरिकी डलर बराबर चन्दा जुटायो। पोर्चुगलस्थित चिनियाहरुले असी हजार यूरो बराबर चन्दा जुटाएको छ। ग्रीसस्थित चिनियाँहरुले एक लाख यूरो बराबर चन्दा जुटाएको छ। साउदी अरबियाका केही चिनियाँ व्यापारीहरुले चौध हजार अमेरिकी डलर बराबर चन्दा जुटाएका छन। यसका अतिरिक्त, म्यान्मार, जापान, फ्रान्स, इन्डोनेशिया, जर्मनी, आइसल्याण्ड तथा टर्कीमा रहेका चिनियाँहरु तथा चिनियाँ विद्यार्थीहरु एवम् कंगोस्थित चीनको शान्ति सेवाको चिकित्सक टोलीले पनि प्रकोपबाट प्रभावित क्षेत्रका लागि चन्दा दिएका छन।
प्राप्त अर्को समाचार अनुसार, हालै विदेशी संचारमाध्यमले लेख प्रकाशित गर्दै चीन सरकार तथा चिनियाँ जनताले उद्धार कार्यमा देखाएको सक्रियता तथा कार्यकुशलता एवम् सूचनाको पारदर्शिता र खुलापनको सराहना गरेका छन।
|