
पैचिङ्ग ओलम्पिकको पवित्र राँको चीन अन्तर्राष्ट्रिय हवाई कम्पनीको "ओलम्पिक पवित्र राँको" शिर्षकको विमानद्बारा यथेन्सबाट यस वर्षको मार्च एकतीस तारिख पैचिङ्गको राजधानी अन्तर्राष्ट्रिय विमान स्थल ल्याइपुर्याइयो। त्यसपछि पैचिङ्ग ओलम्पिकको पवित्र राँकोको स्वागत तथा राँकोको रिले कार्यक्रमको शुभारम्भ समारोहको आयोजना गरियो। चीनका नेतागण हु चिन थाउ र सि चिन फिंगले एक हजारभन्दा बढी पैचिङ्गबासीसँग उक्त भव्य समारोहमा भाग लिनुभयो।
पैचिङ्ग ओलम्पिक खेलकुद शुरु हुन अब एक सय बीस दिन बाँकी छ। प्राचीन ओलम्पिक खेलकुदको मुहान स्थल ग्रीसको ओलम्पियामा बालिएको ओलम्पिकको पवित्र राँकोलाई मार्च एकतीस तारिख विहान पैचिङ्गको केन्द्रमा पर्ने थेन आन मन चोकमा पुर्याइयो। राँको त्यहाँ पुर्याइनेबित्तिकै थेन आन मन चोकमा भएका दर्शकहरुले उत्साहजनक तवरले ताली बजाउँदै खुशीका साथ कराएका थिए।
सो समारोहमा चीनका राष्ट्राध्यक्ष हु चिन थाउले चीनकै जमिनमा बालिएको "शुभ बादल" नामक पहिलो राँको चीनका प्रसिद्ध खेलाडी अर्थात पुरुषतर्फ एक सय दश मिटर अबरोध दौड प्रतियोगितामा कीर्तिमान कायमकर्ता लीउ स्यांगलाई हस्तान्तरण गर्नुभयो। त्यसपछि राष्ट्राध्यक्ष हु चिन थाउले भन्नुभयोः
"म घोषणा गर्छुः सन 2008 पैचिङ्ग ओलम्पिकको पवित्र राँकोको रिले कार्यक्रम शुरु भयो!"

ओलम्पिक खेलकुदको मुहान स्थलमा सल्काइएको उनान्तीसौं ओलम्पिकको यस पवित्र राँकोलाई एक सय तीस दिनसम्म विश्वभरि घुमाइने छ। यस पटकको राँको रिले कार्यक्रमको मुख्य विषय "मेलमिलाप यात्रा" रहेको छ भने त्यसको नारा "उत्साह बढाऔं, संकल्प गरौं" भन्ने रहेको छ। यस क्रममा "शुभ बादल" नामक यस राँकोले विश्वका पाँचवटा महाद्बीपमा एक लाख सैंतीस हजार किलोमिटरको दूरी पार गर्नेछ। यस पटकको राँको हस्तान्तरण गर्ने दुइ हजार एक सयभन्दा बढी व्यक्ति हुने छन भने पवित्र राँकोको सुरक्षा गर्ने व्यक्तिहरुको संख्या पाँच हजार पुग्नेछ। ओलम्पिक खेलकुदको इतिहासमा यस पटक पवित्र राँको रिले गर्ने समय सबैभन्दा बढी र यसमा सहभागी व्यक्तिहरुको संख्या सबैभन्दा बढी हुनेछ।

मार्च एकतीस तारिखको समारोहमा चीनका उप-राष्ट्राध्यक्ष सि चिन फिंगले ओलम्पिकको पवित्र राँकोलाई पैचिङ्गमा स्वागत गर्दै भन्नुभयोः
"विशेतायुक्त उच्च तहको ओलम्पिक खेलकुदको आयोजना गर्नु नै सम्पूर्ण चिनियाँहरुको साझा संकल्प हो। विश्वका विभिन्न मुलुक तथा क्षेत्रका खेलाडी र मित्रहरुलाई ओलम्पिक खेलकुदमा भाग लिनका लागि पैचिङ्ग आउन चीन सरकार र जनता हार्दिक स्वागत गर्दछन। हामी सम्पूर्ण मित्रहरुबीच ओलम्पिक भावनाको प्रचार-प्रसार गरी विभिन्न देशका जनताबीचको जानकारी र मित्रतालाई बढाएर दीर्घकालीन शान्ति र साझा समृद्धिमा आधारित मेलमिलापयुक्त समाजको निर्माणका लागि अथक प्रयास गर्नेछौं।"
|