चिनियाँ दूताबासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चीनमा गएको भूकम्पबाट मर्नेहरुका लागि श्रद्धान्जली व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री कोइरालाले दिनुभएको श्रद्धान्जली तथा शोक सन्देशमा भूकम्पबाट भएको व्यापक धनजनको क्ष्ातिप्रति आफू अत्यन्त दु:खी भएको व्यक्त गर्दै चिनियाँ सरकारले पीडितहरुलाई राहत दिने काम तथा पुननिर्माण तीब्र रुपमा अगाडि बढाएकोमा प्रशंसा गरिएको छ ।
चिनियाँ दूताबासमा हिजो, आज र भोलि तीन दिनका लागि शोक पुस्तिका राखिएको छ । शोक पुस्तिकामा हस्ताक्षर गरेर श्रद्धान्जली व्यक्त गर्नका लागि सरकारी, गैर सरकारी, कुटनीतिक तथा सर्वसाधारणका लागि दुताबास खुला गरिएको छ । विना विभागीय मन्त्री सुजाता कोइराला, पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा लगायतका नेताहरुले पनि चिनियाँ दूताबासमा गएर शोक पुस्तिकामा हस्ताक्षर गरेका छन् । नेपालमा कार्यरत विभिन्न देशका कुटनीतिक नियोगका राजदूत तथा प्रमुखहरु पनि चिनियाँ दूताबास बालुवाटारमा गएर श्रद्धान्जली दिँदै शोक पुस्तिकामा हस्ताक्षर गरेका छन् । उनीहरुले श्रद्धान्जलीसँगै चीनप्रति ऐक्यवद्धता पनि व्यक्त गरेका छन् । यसैगरी सरकारी उच्च ओहोदाका व्यक्तिहरु विभिन्न देशमा काम गरिसकेका पूर्व नेपाली राजदूतहरु पनि चिनियाँ दूताबासमा गएर शोक पुस्तिकामा हस्ताक्षर गर्दै श्रद्धान्जली व्यक्त गरेका छन् ।
चिनियाँ दूताबासमा गएर शोक पुस्तिकामा हस्ताक्षर गर्दै श्रद्धान्जली दिने क्रममा नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसनका उपाध्यक्ष इन्दिरा कार्कीको नेतृत्वमा एक प्रतिनिधिमण्डलले आज चिनियाँ राजदूत चङ्ग सियाङलिनसँग भेट गरेको छ । भेटका क्रममा उपाध्यक्ष कार्कीले भूकम्पबाट चीनमा भएको व्यापक धनजनको क्षतिप्रति एसोसिएन अत्यन्त दु:खी भएको बताउँदै भूकम्पबाट मर्नेहरुको चिर शान्तिको कामना गर्दै पीडितहरुप्रति समवेदना र शान्तन्वा व्यक्त गर्नुभयो । चीन सरकारले यस्तो आपतकालीन अवस्थामा पनि अत्यन्त धैर्यका साथ चुस्त र तीब्र गतिमा काम गरेकोमा उहाँले प्रशंसा पनि व्यक्त गर्नुभयो ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|