 मार्च एकतीस तारिखको समारोहमा चीनका उप-राष्ट्राध्यक्ष सि चिन फिंगले ओलम्पिकको पवित्र राँकोलाई पैचिङ्गमा स्वागत गर्दै भन्नुभयोः
"विशेतायुक्त उच्च तहको ओलम्पिक खेलकुदको आयोजना गर्नु नै सम्पूर्ण चिनियाँहरुको साझा संकल्प हो। विश्वका विभिन्न मुलुक तथा क्षेत्रका खेलाडी र मित्रहरुलाई ओलम्पिक खेलकुदमा भाग लिनका लागि पैचिङ्ग आउन चीन सरकार र जनता हार्दिक स्वागत गर्दछन। हामी सम्पूर्ण मित्रहरुबीच ओलम्पिक भावनाको प्रचार-प्रसार गरी विभिन्न देशका जनताबीचको जानकारी र मित्रतालाई बढाएर दीर्घकालीन शान्ति र साझा समृद्धिमा आधारित मेलमिलापयुक्त समाजको निर्माणका लागि अथक प्रयास गर्नेछौं।"
ग्रीसको ओलम्पिया र चीनको ग्रट वाल यी दुइवटा प्राचीन सभ्यतालाई ओलम्पिकको पवित्र राँकोबाट पूर्णरुपमा जोडिएको छ। पैचिङ्ग ओलम्पिकको पवित्र राँको रिले कार्यक्रमले एक लाख तीस करोड चिनियाँ जनता र विश्वका पाँचवटा महाद्बीपमा बसोबास गर्ने अन्य विभिन्न देशका जनताको मुटुमा ओलम्पिक भावनाको अझ बढी प्रचार-प्रसार गर्नेछ।

अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष चाकुएस रोगेले राँको रिले कार्यक्रमको शुभारम्भ समारोहका लागि बधाई सन्देश पठाउनुभएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक समितिअन्तर्गत पैचिङ्ग ओलम्पिक खेलकुद सामञ्जस्य समितिका अध्यक्ष हेन भेर्ब्रुगेनले श्री रोगेका तर्फबाट उक्त बधाई सन्देश पढेर सुनाउनुभयो। उक्त सन्देशमा भनिएको छः
"पैचिङ्ग ओलम्पिक खेलकुदको प्रतिभाको सिर्जना मात्र नभई चीन र विश्वका जनताले एकले अर्काबाट सिक्ने, जानकारी लिने तथा कदर गर्ने महान अवसरको सिर्जना पनि गर्ने मेरो दृढ विश्वास छ।"
मार्च चौबीस तारिखका दिन ग्रीसको ओलम्पियामा सफलताका साथ बालिएपछि नियमानुसार ओलम्पिक खेलकुदको राँको ग्रीसभित्र सात दिनसम्म घुमाइएको थियो। मार्च तीस तारिख ग्रीसमा आयोजित ओलम्पिकको पवित्र राँको हस्तान्तरण समारोहमा पैचिङ्ग ओलम्पिक खेलकुद संयोजन समितिका अध्यक्ष लीउ छिको नेतृत्वमा ग्रीस पुगेको प्रतिनिधिमण्डलले उक्त पवित्र राँकोलाई पैचिङ्ग पुर्याएको हो। मार्च एकतीस तारिखको समारोहमा बोल्दै श्री लीउ छिले भन्नुभयोः
"हामी हरित ओलम्पिक, वैज्ञानिक तथा प्राविधिक ओलम्पिक र मानवीय ओलम्पिक भन्ने धारणालाई चौतर्फीरुपमा व्यवहारमा उतारेर विभिन्न तयारी कार्य राम्ररी गर्नेछौं।"

पैचिङ्ग ओलम्पिकको पवित्र राँकोलाई चीनबाहिर तेत्तीस दिनसम्म घुमाइने छ। मे महिनाको शुरुतिर पुनः चीन ल्याइने यस ओलम्पिकको पवित्र राँकोलाई अगष्ट आठ तारिखका दिन उनान्तीसौं ओलम्पिक खेलकुद पैचिङ्गमा शुरु हुने समयसम्म चीनका विभिन्न स्थानमा घुमाइने कार्यक्रम छ।
|