परम्परादेखि अशल छिमेकी राष्ट्रका रुपमा रहेका नेपाल र चीनबीचको तेस्रो संयुक्त सीमा निरीक्षण समितिको छैँटौँ बैठक हिजो बिहीबार सम्पन्न भएको छ। परराष्ट्र मन्त्रालयका सहसचिव सुरेशप्रसाद प्रधानले सि.आर.आई.लाई बताउनु भए अनुसार यो नियमित बैठक हो।
नेपाल चीन सीमा निरीक्षणको बैठक प्रत्येक वर्ष आलोपालो गर्दै दुवै देशमा बस्ने गर्दछ। यसभन्दा अगाडि सन् 2007 मा नेपालमा सम्पन्न भएको नेपाल र चीनबीचको तेस्रो संयुक्त सीमा निरीक्षण समितिको पाँचौँ बैठकका निर्णयहरुलाई कार्यान्वयन हुने कुरामा यो बैठक केन्दि्रत रहेको सहसचिव प्रधानले बताउनुभयो।
बैठक गत मंगलबार चीनको राजधानी पैचिङ्गमा सुरु भएको थियो। बैठकमा दुवै पक्षबीच पुन: नक्साङ्कनको प्राविधिक नमूनालाई अन्तिम रुप दिने कार्यको अनुगमन तथा तेस्रो सीमा निरीक्षण समितिले समयमै सम्पादन गर्नुपर्ने सम्बन्धित कायमका विषयमा छलफल भएको छ।
बैठकमा 11 सदस्यीय नेपाली सरकारी प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव प्रधानले गर्नुभएको छ। त्यसैगरी 15 सदस्यीय चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व चीनको परराष्ट्र मन्त्रालका सीमा मामिलासम्बन्धी वरिष्ठ सल्लाहकार ली छिङ युवानले गर्नुभएको थियो।
चीन भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलले चीनका परराष्ट्र सहायकमन्त्री ह याफेइसँग पनि भेट गरी आपसी चासोका विषयमा छलफल गरेको सहसचिव प्रधानले बताउनुभयो। त्यसैगरी नेपाली प्रतिनिधिमण्डलले चीनको राष्टि्रय नापी तथा सर्वे व्युरोका उपमहानिर्देशकसँग भेटी चिनियाँ पक्ष र नेपालको नापी विभागबीचमा सहयोगका बारेमा पनि छलफल भएको छ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|