नेपालमा चिनियाँ पर्यटकहरु बढिरहेको तथ्यांकलाई ध्यान दिएर नेपाल पर्यटन बोर्डले चिनियाँ भाषामा वेभसाइट सञ्चालन गर्ने भएको हो। नेपाल घुम्न चाहने चिनियाँ पर्यटकहरुले घरमा नै बसीबसी वेभसाइटबाट सबै जानकारी लिउन् र सोही अनुसार आफ्नो कार्यक्रम बनाउन सकुन् भनेर चिनियाँ भाषामा वेभसाइट सञ्चालन गर्न लागेको नेपाल पर्यटन बोर्डका काशीराज भण्डारीले सि.आर.आई.लाई बताउनुभयो।
नेपालमा चिनियाँ पर्यटकहरु सन् 2006 को राजनीतिक परिवर्तनपछि मात्र आउन थालेका हुन्। त्यसपछि क्रमश: चिनियाँ पर्यटकहरु दिनप्रतिदिन बढिरहेका छन्। भविष्यमा चिनियाँ पर्यटकका लागि नेपाली पर्यटन क्षेत्रले मुख्य बजार विस्तार गर्न सक्ने सम्भावनाको अध्ययन गरेर चिनियाँ भाषामा वेभसाइट सञ्चालन गर्न लागेको बोर्डले दावी गरेको छ।
हवाइ मार्गबाट मात्र नेपाल भित्रिने चिनियाँ पर्यटकले पछिल्लो आँकडा अनुसार नेपालमा धेरै पर्यटक भित्रिने राष्ट्रहरुको सुचिमा चौथो स्थान ओगटेको छ। नेपाल र चीनको स्वायत्त प्रदेश तिब्बतको ल्हासा जोड्ने साझा बसको सञ्चालन सुरु भएपछि स्थल मार्ग प्रयोग गरेर पनि हजारौँ चिनियाँ पर्यटकहरुले नेपालको भ्रमण गरिसकेका छन्।
नेपाल सरकारले चिनियाँ पर्यटकलाई आकर्षित गर्नका लागि विभिन्न योजनाहरु अगाडि ल्याइरहेको अवस्थामा पर्यटन बोर्डको चिनियाँ भाषाको वेभसाइट महत्वपुर्ण हुने कुरा बोर्डका अधिकारी काशीराज भण्डारी बताउनुहुन्छ। सबै चिनियाँहरुले बुझुन् भन्नका लागि बोर्डले यसभन्दा पहिले नै पर्यटकीय स्थानको परिचय पुस्तिका तथा अन्य सामग्री चिनियाँ भाषामा प्रकाशन गरिसकेको छ। यसै सिलसिलामा अब नेपाल घुम्न रुचि देखाउने चिनियाँ पर्यटकले नेपालका कुन स्थान कस्तो छ, कहाँ आफुलाई घुम्न योग्य ठाउँ छ भन्ने कुरा घरमै बसेर वेभसाइट हेरी नेपाल घुम्ने कार्यक्रम बनाउन सजिलो हुने भएको छ। नेपाल पर्यटन बोर्डको वेभसाइट ठेगाना रहेको वेलकम नेपालभित्रै चिनियाँ भाषाको वेभसाइट रहनेछ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|