दैनिक सवारी साधनको चाप बढिरहेकाले काठमाडौंमा ट्राफिक जामको समस्यालाई समाधान गर्न सरकारलाई ठुलो टाउको दुखाइ बनेको छ। चिनियाँ सरकारको सहयोगमा निर्माण भएको चक्रपथमा ट्राफिक व्यवस्थापन मिलाउनका लागि चिनियाँ सरकारसँग अनुरोध गरेर परियोजना प्रस्ताव पठाइएको सडक विभागका ट्राफिक शाखाका इन्जिनियर सुनिल पौडेलले सि.आर.आई.लाई बताउनुभयो।
काठमाडौँ सहरवरिपरी घुम्ने चक्रपथको लम्बाई 27 किलोमिरटर रहेको छ। चक्रपथमा ट्राफिक अति व्यस्त रहने स्थानमा सवारी साधन गुड्ने खालका आकासेपुल निर्माण गरि सुधार गरिने कुरा इन्जिनियर पौडेलले खुलासा गर्नुभयो। कोटेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि, गौशला, चावहिल, नारायणगोपाल चोक, गंगबु, बालाजु, कलंकी र जावलाखेल चोक चक्रपथमा पर्ने अति व्यस्त चोकहरु हुन्। यी चोकहरुमा सवारी साधनको आवागमनलाई सरल र सहज तुल्याउनका लागि मोटर वारपार गर्ने आकाशे पुल निर्माण गर्नका लागि सन् 2007 को जुलाईमा चीन सरकार समक्ष नेपाल सरकारले अनुरोध गरेको इन्जिनियर पौडेलले जानकारी गराउनुभयो।
पहिलो चरणमा कोटेश्वर, कलंकी र महाराजगंजको नारायण गोपाल चोकमा आकाशे पुल बनाउका लागि चिनियाँ पक्षबाट सकारात्मक जवाफ आएको कुरा इन्जिनियर पौडेलले सि.आर.आई.लाई बताउनुभयो। आकाशे पुलको निर्माण बाहेक चिनियाँ सहयोगको परियोजनामा चक्रपथको चौडाइ बढाउनुका साथै सडक पेटीसमेत बनाइनेछ। अब चिनियाँ पक्षबाट सहमतिअनुरुप स्वीकृतिपत्र पाउनासाथ परियोजनाबारे विस्तृत प्रतिवेदन बनाएर पठाइने तयारीमा सडक विभाग रहेको इन्जिनियर पौडेलले बताउनुभयो।
चिनियाँ सहयोगमै बाहिरी चक्रपथ निर्माण गरिने कुरा पनि अध्ययनमा रहेको सडक विभागले जनाएको छ। बाहिरी चक्रपथ निर्माण गर्नका लागि जग्गा अधिग्रहण गर्नुपर्ने तथा विस्तृत सर्वे हुनु पर्नेमा यो निकै महत्वाकांक्षी योजना रहेको विभागको भनाइ रहेको छ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|