विकासको पुर्वाधारमा सञ्चारले मेरुदण्डको काम गर्छ भन्ने मान्यतालाई अङ्गीकार गर्दै सरकारले ग्रामीण भेगसम्म दुरसञ्चारलाई विस्तार गर्ने नीति लिएको छ। सोही नीति अनुरुप चालु वर्ष सन् 2008 भित्रै नेपाल टेलिकमले पैँतीस लाख नयाँ सदस्यहरुलाई चिनियाँ प्रविधिको दुरसञ्चार सेवाको विस्तार गर्ने भएको छ।
ग्रामीण क्षेत्रमा दुर सञ्चारको विकास गर्नका लागि नेपाल टेलिकमले विश्वव्यापी टेण्डर आव्हान गरेको थियो। सबैभन्दा सस्तोमा गुणस्तरीय सेवा प्रदान गर्नका लागि चिनियाँ कम्पनी जेडटिईले ठेक्का पाएको थियो। अहिले चिनियाँ कम्पनी जेडटिईले आफ्नो काम द्रुत गतिमा गरिरहेको जेडटिई कम्पनीका नेपाल प्रतिनिधि सविन श्रेष्ठले सि.आर.आई.लाई बताउनुभयो।
कम्पनीको ठेक्कामा भएको सम्झौता अनुसार यही जुन 30 तारिखभित्र दुरसञ्चारको परियोजना पुर्ण गर्नुपर्ने भए पनि विविध कारणले झण्डै छ महिना ढिलो परियोजना सम्पन्न हुने भएको श्रेष्ठले बताउनुभयो। नेपालमा संविधानसभाको निर्वाचन तथा विविध खाले राजनीतिक आन्दोलनले गर्दा समयमै काम पुरा गर्न नसके पनि अहिले तिब्रगतिमा काम भइरहेको श्रेष्ठले जानकारी दिनुभयो।
जेडटिई कम्पनीका नेपाल प्रतिनिधि श्रेष्ठका अनुसार चिनियाँ प्रविधिका जिएसएम प्रविधिका मोबाइल र सिडिएमए प्रविधिको टेलिफोनको विकास सँगसँगै एडिएसएल प्रविधिबाट दुर्गम ग्रामीण क्षेत्रमा इन्टरनेट पुर्याउने कार्यक्रम रहेको छ। दुर सञ्चारमा चिनियाँ प्रविधिका यी विविध पक्षको विकासले नेपालको अत्यन्त विकट ग्रामीण क्षेत्रमा पनि सर्वसाधारणले टेलिफोनको सेवा लिने तथा इन्टरनेट चलाउन सक्ने हुनेछन्। यसले नेपाल सरकारको गुणस्तरीय दुर सञ्चारको विकास गरेर विकासलाई मजबुत बनाउने नीतिलाई लक्ष्यसम्म पुर्याउन सहयोग पुर्याउनेछ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|