चिनियाँ सहयोगमा रसुवागडी स्याप्रुवेसी सडक निर्माण सुरु भएको सडक विभागले जनाएको छ। सडक विभागका स्याप्रुवेसी रसुवागडी सडक आयोजना प्रमुख महेश्वरलाल श्रेष्ठलाई उद्धृत गर्दै नेपालका दैनिक पत्रपत्रिकाहरुले सो सम्बन्धी समाचार संम्प्रेषण गरेका छन् । समाचारमा बताइए अनुसार स्याप्रुमा इन्जिनियर सहित साताजना र रसुवागडीमा 25 जनाको टोली अहिले सडक निर्माणमा जुटेको छ ।
चिनियाँ टोलीले नेपालतफ आउनका लागि लेङ्दे खोलामा अस्थायी पुल निर्माण गरिरहेको छ भने स्याप्रुमा बजारबाट सडक खन्न थालेको सडक विभागले जनाएको छ । लगभग 16 किलोमिटर सो सडक आगामी साढे दुई वर्षमा पूरा हुने विभागले सि.आर.आई.लाई जनाएको छ ।
नेपालका लागि चिनियाँ राजदूत चङ्ग सियाङलिनले गत वर्ष आफ्नो कार्यभार सम्हालेदेखि नै रसुवा स्याप्रुवेसी सडक निर्माणको परियोजनालाई अगाडि बढाउने प्रतिवद्धता विभिन्न कार्यक्रमहरुमा गर्दै आउनु भएको थियो । लामो समयको प्रतीक्षापछि स्याप्रुवेसी रसुवागडी सडक सुरु भएपछि नेपाल र चीनबीचमा थप नाकाको विकास हुने भएको छ । अहिले चिनियाँ ठेकेदारले दुवैतिरबाट सडक खन्ने भएकाले त्यसका लागि लोडर र स्काइभेटर ल्याउनका लागिएको सडक विभागले जनाएको छ ।
चीनले नेपालसँगको व्यापारलाई प्राथमिकता दिँदै थप नाका खोल्ने नीति अनुसार सो सडक निर्माण गर्न लागेको हो । सो सडक निर्माणम लागि चिनियाँ सरकारले एक अर्ब 10 करोड रुपैँया सहयोग स्वरुप उपलब्ध गराइसकेको छ ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|