सि.आर.आई. नेपाली सेवाका गौरवमय 33 वर्षहरुको समीक्षा गर्दै सि.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपाल आज एक कार्यक्रमको आयोजना गर्यो। सि.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालका कार्यवाहक अध्यक्ष टिकाराम घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको थियो । सि.आर.आई. नेपाली सेवाको 33 औं वाषिकोत्सव मनाउने सिलसिलामा भेला भएका श्रोताहरु, वुद्धिजिवी, पत्रकार तथा प्रतिष्ठित व्यक्तिहरुमाझ बोल्दै राष्ट्रिय परिषदका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार प्रकाशबाबु पौडेलले सि.आर.आई. नेपाली सेवाको योगदानलाई उच्च मूल्याङ्कन गर्दै नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई जनस्तरमा पुर्याउने काममा सि.आर.आई. लागिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो "यो 33 वर्षको अवधिमा सि.आर.आई. नेपाली सेवाले हजारौँ सद्भावना राजदूतहरु जन्माएको छ जसमा दुईको मैत्रीसम्बन्धमा स्तम्भको काम गरिरहेका छन् ।" अत्यन्त सफलतापूर्वक 33 वर्ष पार गरेकोमा सि.आर.आई. नेपाली सेवालाई उहाँले बधाइ पनि दिनुभयो ।
प्रमुख अतिथिको रुपमा कार्यक्रममा आउनु भएकी चिनियाँ दूताबासको संस्कृति विभागकी प्रमुख तथा प्रथम सचिव चेन युलीले सि.आर.आई. नेपाली सेवाले गरेको कामलाई आफूले अहिले मात्र थाहा पाएको बताउँदै भन्नुभयो "म संस्कृति विभाग हेर्छु, सि.आर.आई. नेपाली सेवाले पनि दुई देशको सांस्कृतिक सम्बन्धलाई न्यानो र नजिक बनाउने काम गरिरहेको छ ।
"सि.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालका कार्यवाहक अध्यक्ष टिकाराम घिमिरेले राष्ट्रिय परिषदका गतिविधिमा प्रकाश पार्नुभको थियो । सि.आर.आई. नेपाली सेवाभन्दा झण्डै 21 वर्षपछि जन्मिएको राष्ट्रिय परिषदले प्रत्येक जुन 25 तारिखलाई अत्यन्त महत्वका साथ हेरेको बताउँदै कार्यवाहक अध्यक्ष घिमिरेले भन्नुभयो "सन् 1955 मा नेपाल र चीनबीच मैत्री सम्बन्ध स्थापना भएको बीस वर्षपछि सन् 1975 मा स्थापित सि.आर.आई. नेपाली सेवा दुई देशबीचको वायुपुलको रुपमा स्थापित भएको छ ।
"सि.आर.आई. नेपाली सेवाको 33 औं वाषिकोत्सवमा राष्ट्रिय परिषदका सल्लाहका तथा सि.आर.आई. नेपाली सेवाको संवाददाता सहकर्मी रमेशकुमार भट्टराई, राष्ट्रिय परिषदका सचिव दुर्गा घिमिरे तथा अन्य पदाधिकारीहरुले पनि बोल्नु भएको थियो ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|