तिब्बत भ्रमणमा रहेको नेपाली पत्रकारहरुको टोलीसँगको छलफलमा चीनको स्वायत्त प्रदेश तिब्बतका विद्वानहरुले नेपाललाई चीनको असल साथी बताएको आज प्रकाशित गोरखापत्रले जनाएको छ । तिब्बत एकेडेमी अफ सोसियल साइन्सका प्राध्यापक सुन योङ्गलाई उद्धृत गर्दै प्रकाशित समाचारमा भनिएको छ "चीन सधैँ नेपाली जनताको चाहनालाई सम्मान गर्छ, नेपालको राजनीतिक परिवर्तनले वहुसंख्यक नेपाली जनताको प्रतिनिधित्व गरेको छ ।"
स्वायत्त तिब्बत प्रदेशका पार्टी सेक्रेटरी समेत रहनुभएका प्राध्यापक सुन योङ्ग कुनै पनि शक्तिले चीन र नेपालबीचको मैत्री सम्बन्धलाई टुटाउन नसक्ने धारणा राख्नुहुन्छ । नेपाल र चीनबीचमा साझा सांस्कृतिक अवधारणा रहेको बताउँदै प्राध्यापक सुनले भन्नुभयो "नेपाल शाक्यमुनि गौतमवुद्ध जन्मेको देश हो भने चीन कन्फ्युसियस जन्मेको देश हो । दुवै देशले शान्तिको बाटो अपनाएका छन् ।"
चीनको स्वायत्त प्रदेश तिब्बतको सदरमुकाम ल्हासामा भएको छलफलमा नेपाली जनता र नेपाल सरकारले एक चीन नीतिको यथार्थमा उभिएर सहयोग पुर्याउँदै आएको जनाउँदै प्राध्यापक जियावार्डले नेपाल र नेपालीको वुद्धिमतालाई सम्मान गर्ने बताउनुभयो । एक चीन नीतिको वास्तविक पक्षमा लगातार बोल्ने नेपाल पहिलो देश भएको बताउँदै उहाँले यसैका कारण नेपाल र चीनको मित्रता सधैँ सुमधुर रहेकोमा खुशी प्रकट गर्नुभयो ।
नयाँ चीनको स्थापनामा महान् चिनियाँ नेताहरु माओत्सेतुङ्ग तथा तङ्ग स्याओपेङ्गसँगै संघर्ष गर्नुभएका प्राध्यापक जियावाई सन् 1996 देखि 1998 सम्म स्वायत्त तिब्बत प्रदेशको उपप्रमुख हुनुहुन्थ्यो । उहाँ हाल वुद्धधर्मको अनुसरण गर्दै अवकाश जीवन व्यतीत गरिरहनुभएको छ ।
नेपालमा हालै भएको राजनीतिक परिवर्तनबाट खुशी हुनुभएका प्राध्यापक जियाबाई नेपालको द्वन्द्व र अशान्तिबाट चिन्तित हुनुभएको थियो । दुवै विानले नेपालमा दिगो शान्ति र स्थायित्व हुनेपर्ने बताउँदै एकआपसको सहयोग निरन्तर रहने कुरामा जोड दिएको समाचारमा उल्लेख गरिएको छ ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|