चीनको राजधानी बेइजिङमा सञ्चालन भइरहेको 29 औं गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको सुटिङ खेलमा नेपालको तर्फबाट सहभागी फूलमाया क्याप्छाकीले राष्ट्रिय कीर्तिमान तोड्न असफल हुनुभएको छ। आज बिहान सम्पन्न उक्त खेलअन्तर्गत 10 मीटर एर राइफल समूहमा उहाँले 380 अंक मात्रै बटुल्नुभयो, जुन उहाँले 10 औं सार्क खेलकुद प्रतियोगितामा प्राप्त गर्नुभएको अंकसँग बराबर छ। उक्त खेलमा भगवती खत्रीको नाममा 388 अंकको राष्ट्रिय कीर्तिमान छ।
प्रतियोगितामा राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्यका साथ मैदानमा उत्रिएकी क्याप्छाकीले न्युनतम लक्ष्य हासिल गर्न नसक्दा निकै दु:ख लागेको बताउनुभयो । उहाँले ओलम्पिकजस्तो ठूलो प्रतियोगिता भएकोले आफूलाई नियन्त्रण गर्न नसकेको उल्लेख गर्नुभयो । प्रशिक्षक प्रदीप खाँतीले पनि ठूलो प्रतियोगिता भएको कारणले क्याप्छाकीले प्रतिस्पर्धा झेल्न नसकेको बताउनुभयो । "उनी होनाहार खेलाडी हुन्," खातीले भन्नुभयो-"तर ठूलो प्रतियोगिता भएको कारण उनी सुरुमा नै हडबडाइन्।" बाइल्ड कार्ड पाएर प्रतियोगितामा सहभागिता जनाउनुभएकी क्याप्छाकीले प्रतियोगितामा सहभागी हुनअघि राष्ट्रिय कीर्तिमान तोड्ने विश्वास लिएको बताउनुभएको थियो।
|