नेपाल र चीनबीचको मैत्री सम्बन्ध विस्तारमा लामो समय बिताउनु भएका रामबाबु तिवारीको 61 वर्षको अल्पायुमै निधन भएको छ। यही अगष्ट महिनाको गत 2 तारिख शनिबार पाटन अस्पतालमा उपचार गर्ने सिलसिलामा उहाँको निधन भएको हो।
नेपाल चीन मैत्री समाजका अध्यक्ष तिवारीलाई चीनका असल मित्र भनेर पनि चिन्ने गरिन्छ। नेपाल र चीनबीचमा कुटनीतिक सम्बन्ध स्थापना भएको त्रिपन्नौँ वार्षिकोत्सव काठमाडौँमा भव्य रुपले मनाइरहेका बेला उहाँ पाटन अस्पतालको आइसियुमा उपचार गराइरहनु भएको थियो। त्रिपन्नौँ वार्षिकोत्सवका आयोजक संस्थामध्ये उहाँको संस्था नेपाल चीन मैत्री समाज पनि एक थियो।
अरनिको समाजका संस्थापक सदस्य तथा पछि अध्यक्ष पनि हुनु भएका स्वर्गीय तिवारी नेपाल चीन मैत्री समाजका संस्थापक महासचिव र पछि अध्यक्ष हुनु भएको हो। उहाँले चिनियाँ भाषामा पोष्ट ग्राजुएट पनि गर्नुभएको थियो। सरकारी क्षेत्रका विभिन्न तहमा रहेर तथा निजी क्षेत्रबाट समेत उहाँले नेपाल र चीनबीचको सम्बन्धलाई निकट बनाउने काम गर्नुभएको थियो।
उहाँको योगदान अविस्मरणीय रहेको चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीले सि.आर.आई.लाई बताउनुभयो। त्यसैगरी अरनिको समाजका अध्यक्ष डा. हरिश्चन्द्र शाहले आफुले घनिष्ट साथी गुमाउनुपर्दा पीडा बोध भएको बताउँदै उहाँ नेपाल चीन सम्बन्धका कोशे ढुङ्गो हुनु भएको बताउनुभयो। नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएनका अध्यक्ष प्रकाशबाबु पौडेलले तिवारीको निधनले नेपालले सच्चा नागरिक गुमाएको तथा चीनले असल साथी गुमाएको बताउनुभयो।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|