चिनियाँ सहयोगमा निर्माण हुने आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको दुई महिनापछि कार्यप्रारम्भ हुने भएको छ । गत वर्ष नै स्वास्थ्य मन्त्रालय र चिनियाँ दूताबासबीचमा हस्ताक्षर भएको भए पनि विविध कारणले गर्दा निर्माण कार्य कहिले सुरु गर्ने भन्ने बारेमा स्पष्ट भएको थिएन ।
आयुर्वेद अनुसन्धान तथा तालिमकेन्द्र परियोजनाका सम्पर्क अधिकारी डा. हरिश्चन्द्र शाहले सि.आर.आई.लाई बताउनु भए अनुसार परियोजना आगामी दुई महिनाभित्र सुरु हुनेछ । निर्माण कार्य सुरु भएको दुई वर्षभित्रमा सम्पन्न हुने लक्ष्य राखेको यस परियोजनामा अठ्चालीस करोड रुपैयाँ लगानी हुनेछ । लगानीको सम्पूर्ण भाग चिनियाँ सहयोगबाट प्राप्त हुने दुई पक्षीय सम्झौतामा उल्लेख छ । परियोजना चीनको च्याङ्सी प्रान्तको एक कम्पनीले निर्माण गर्ने भएको छ ।
काठमाडौँको कीर्तिपुरमा निर्माण हुने यस परियोजनामा आयुर्वेद सम्बन्धी अध्ययन अनुसन्धान गर्ने तथा आयुर्वेद विज्ञानमा शिक्षण अस्पतालसम्मको सुविधा उपलब्ध हुनेछ । त्यसैगरी नेपालमा पाइने जडीबूटीको अनुसन्धान गरी मानोग्राम तयार पार्ने काम पनि यस परियोजनाले गर्नेछ । यसैगरी नेपालमा भएको परम्परागत उपचार पद्धत्तिकोो अनुसन्धान गरी व्यवस्थित गराउने काम परियोजनाले गर्ने सम्पर्क अधिकारी डा. शाहले बताउनुभयो ।
नेपालको स्वास्थ्य क्षेत्रमा चिनियाँ सहयोगको उल्लेख्य भूमिका रहेको छ । काठमाडौँको नयाँ बानेश्वरमा निजामति कर्मचारी अस्पतालको निर्माण कार्य भरखरै सम्पन्न भएको छ । यो अस्पताल पनि चिनियाँ सहयोगबाटै निर्माण भएको हो । अब कीर्तिपुरमा बन्ने आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले वैकल्पिक उपचार तथा नेपालको स्वास्थ्य क्षेत्रमा नै ठूलो परिवर्तन ल्याइदिनेछ ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|