
पैचिङ्गमा जारी उनान्तीसौँ ग्रीष्मकालीन् ओलम्पिक खेलकुद आज बेलुकी सम्पन्न भएको छ। प्राप्त आधिकारिक तथ्याङ्कअनुसार, यस पटकको ओलम्पिकमा सहभागी मुलुक तथा क्षेत्रको संख्या, सिर्जना गरिएको नयाँ विश्व रिर्कडको संख्या, प्रसारणको परिधि तथा विश्वव्यापी हेराइको दर यी सबै क्षेत्रमा यस ओलम्पिक खेलकुदले नयाँ रेकर्ड सिर्जना गरेको छ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष ज्याक रोगे, चीनका राष्ट्राध्यक्ष हु चिन थाऊ तथा विश्वका बीस मुलुकका राजनैतिक व्यक्ति,राष्ट्रप्रमुख तथा राजपरिवारका प्रतिनिधिहरुले आज बेलुकीको समापन समारोहमा भाग लिनुभएको छ।
आज विहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ज्याक रोगेले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पैचिङ्ग ओलम्पिक खेलकुदको कार्यप्रति सन्तोष व्यक्तगर्दै पैचिङ्ग ओलम्पिकबाट विश्वले चीनबारे अझ जानकारी पाएको साथै चीनले विश्वबारे पनि अझ धेरै थाहा पाएको कुरा प्रकट गर्नुभएको छ।

यस पटकको ओलम्पिक खेलकुदमा पदक प्राप्त गरेका खेलाडीहरु तथा टोली सतासी मुलुक तथा क्षेत्रबाट आएका हुन् र यो संख्या गत ओलम्पिकको भन्दा बाह्र भन्दा बढी हो। यसले गर्दा उपलब्धिको दृष्टिकोणबाट हेर्दा ओलम्पिक खेलकुद विभिन्न सदस्यबीच अझ सन्तुलित दिशातर्फ विकसित हुँदै गएको प्रतिविम्वित गरिएको छ।
स्वर्णपदक तालिकामा चीन प्रथम स्थानमा रहेको छ भने अमेरिका तथा रुस दोस्रो तथा तेस्रो स्थानमा रहेका छन्। तर पदकको कूल संख्या तालिकामा अमेरिका प्रथम स्थानमा रहेको छ।
आज बेलुकी आयोजना भएको समापन समारोहमा आउने ओलम्पिकको संयोजक शहर लण्डनले पैचिङ्गबाट ओलम्पिक झण्डा पाउने भएको छ।
समाचारपछि यस समापन समारोहसम्बन्धी विशेष कार्यक्रम सुन्न नभुल्नुहोस् है।
|