प्रधानमन्त्रीमा भारी मतले विजयी भएपछिको पहिलो विदेश भ्रमणका रुपमा चर्चामा आएको पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणले नेपाल र चीनबीचको आपसी सयहोगमा वृद्धि हुने आशा गरिएको छ ।
पर्सि अगष्ट 24 तारिख फेरि एकपटक विश्व चराको गुँडमा केन्दि्रत हुने 29औं ओलम्पिकको समापन समारोहमा प्रधानमन्त्री दाहाल अतिथिको रुपमा चीन प्रस्थान गर्दै हुनुहुन्छ । नेपालको पूर्वी भागमा पर्ने कोशी बाँध भत्किएर हजारौँ नेपाली वेघरबार भएको अवस्थामा विदेशी सहयोग आव्हान गरिसक्नु भएका प्रधानमन्त्रीले यस विषयमा पनि चीनका समकक्षीसँग कुरा गर्ने आशा प्रकट गरिएको छ ।
नेपालको अशल छिमेकी मुलुक चीनलाई प्राथमिकतामा राखेर चीनको भ्रमण गर्नु सार्थक र शुभ सेत रहेको पत्रकार गंगाप्रसाद शाह बताउनुहुन्छ । प्रधानमन्त्रीको यस भ्रमणले नेपालले आफ्नो वैदेशिक नीतिलाई सन्तुलित बनाउने र नेपालको भूमि प्रयोग भएर चीन बिरोधी हुने सबै खालका गतिविधिलाई रोकिने शाहले विश्वास लिनु भएको छ ।
भोलिदेखि हुने प्रधानमन्त्रीको चीन भ्रमणलाई व्यापारिक वर्गमा पनि महत्वका साथ हेरिएको छ । नेपाल हिमालय सिमापार वाणिज्य संघले प्रधानमन्त्रीको चीन भ्रमणले दुई देशबीचको असन्तुलित व्यापारमा सुधार हुने आशा लिएको छ । संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले भन्नुभयो "प्रधानमन्त्रीले नेपाल र चीनबीचको सम्बन्धलाई प्राथमिकतामा राखेर नै चीनको भ्रमण गर्न लाग्नु भएको छ । अवस्य पनि यसले सकारात्मक सन्देश दिनेछ ।"
प्रधानमन्त्रीको चीन भ्रमणलाई लिएर नेपाली सञ्चार माध्यममात्र होइन भारतीय सञ्चार माध्यमले समेत महत्वका साथ समाचार सम्प्रेषण गरेका छन् । भारतीय कूटनीतिक व्यक्तिहरुले नेपालका प्रधानमन्त्रीको चीन भ्रमणलाई चासोका साथ हेरेको नयाँ दिल्लीलाई उद्धृत गर्दै नेपाली पत्रपत्रिकाले समाचार प्रकाशन गरेका छन् ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|