सफलतापूर्वक सम्पन्न 29औं गृष्मकालीन ओलम्पिक खेलकूदमा चीनले प्रथम स्थान हासिल गरेको छ । यसभन्दा अगाडिको 28औं ओलम्पिक खेलकूदमा अमेरिका प्रथम भएको थियो । यसपटक भने चीनले अमेरिकालाई पदक तालिका अनुसार ठूलो अन्तरले पछाडि पारेको छ ।
नेपालको अशल छिमेकी राष्ट्र चीनले ओलम्पिक खेलकूदमा प्रथम स्थान हासिल गरेकोमा नेपालीहरुले खुशी प्रकट गर्दै चीनलाई बधाइ दिएका छन् । नेपाल चीन कार्यकारी परिषदका महासचिव राजेन्द्र नकर्मीले चीनले यति ठूलो परिणाममा पदक जित्नुको पछाडि चिनियाँ खेलाडीको मिहिनेत र चिनियाँ तयारी रहेको बताउनुभयो । उहाँले आफ्नो खुशीलाई चिनियाँ जनतासँग साट्दै भन्नुभयो "यस अवसरमा म चीनलाई बधाइ दिन्छु । चीनले अद्वित्तीय रुपमा 29औं ओलम्पिक खेलकूदलाई सम्पन्न गरको छ यो एक्काईसौँ शताब्दीमा विश्वकै पहिलो सफलता हो ।"
यसैगरी चीन अध्ययन केन्द्रका कोषाध्यक्ष गंगाप्रसाद उप्रेतीले चीनले ओलम्पिक खेलकूदमा प्रथम स्थान प्राप्त गरेकोमा आफू र आफ्नो संस्थाका तफबाट चिनियाँ जनतालाई बधाई दिँदै अब भविष्यमा सधैँ चीनले ओलम्पिकमा नेतृत्व गर्ने बताउनुभयो । उहाँले आफूले अधिकांश खेलकूदलाई टेलिभिजनबाट हेरेको बताउँदै चिनियाँ खेलाडीको कार्यकुसलता देखेर आफू आश्चर्यचकित भएको पनि बताउनुभयो ।
हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले चीनले सबैभन्दा धेरै स्वर्ण पदक जिती विश्व कीर्तिमान कायम गरेकोमा आफूलाई अत्यन्त खुशी लागेको बताउनुभयो । नेपालमा भएका चिनियाँहरु तथा चिनियाँ दूताबासका अधिकारीमाफत आफूले बधाइ पठाइसकिएको बताउँदै अध्यक्ष श्रेष्ठले भन्नुभयो "चीनको खेल र व्यवस्थाबाट हामी नेपालीले पनि धेरै कुरा सिक्नुपर्ने आवश्कता छ ।"
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|