नेपाल हिमालय सिमा पार वाणिज्य संघले नेपाल र चीनबीचको व्यापारिक सम्बन्धमा आउने अवरोध तथा असुरक्षाका गतिविधिलाई नियन्त्रण गर्न पहल गर्ने भएको छ । नेपाल र चीनबीचको सिमा तातोपानी साखादेखि काठमाडौँसम्मको दुरीमा सामान ओसार पसार गर्दा आउने विविध समस्यालाई नियन्त्रण गर्न पहल भएको हो ।
वाणिज्य संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले सि.आर.आई.सँग कुरा गर्दै भन्नुभयो "गृहमन्त्री बामदेव गौतमसँग भेटी सुरक्षा व्यवस्था कडा गर्न अनुरोध गरेका छौँ ।" काठमाडौँ तातोपानी खण्डमा चन्दा, लुटपाट तथा सडक असुरक्षाका कारण दुई देशबीचको व्यापारमा असर पुगेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
विभिन्न संघसंस्थाका नाममा चन्दा असुल्ने, समान लुट्ने कामलाई नियन्त्रण गर्नका लागि प्रहरी प्रशासन, जिल्ला प्रशासन कार्यालय, राजनीतिक दलहरु तथा वाणिज्य मन्त्रालयसँग मिलेर संघले समस्याको समाधान खोज्नेछ । समानधान खोज्ने क्रममा सर्वपक्षीय छलफल गर्ने, सुरक्षा व्यवस्थाको प्रभावकारी अनुगमन गर्ने तथा दसैँ तिहारका लागि सामानको आपूर्तिमा कमी आउन नदिने कुरालाई संघले प्राथमिकतामा राखेको छ ।
चीनसँगको व्यापारमा मुख्य नाका खासा तातोपानीबाट झण्डै 98 प्रतिशत व्यापार हुने गर्दछ । काठमाडाँबाट नेपालभरी चिनियाँ सामानको आपूर्ति हुने गर्दछ । नेपाल हिमालय सिमापार वाणिज्य संघ नेपाल र चीनबीच व्यापार गर्ने व्यापारीहरुको साझा संस्था हो ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|