नेपालमा चिनियाँ संस्कृतिलाई प्रचारप्रसार गर्नमा सञ्चार माध्यमले ठुलो भुमिका निर्वाह गरेको सुचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महराले बताउनु भएको छ। हिजो काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री महराले चीनमा सुचना प्रविधिको उच्च विकास भइरहेको र नेपालले पनि यसबाट लाभ प्राप्त गरेको बताउनुभयो।
चिनियाँ समाचार समिति सिन्ह्वा र काठमाडौँस्थित चिनियाँ पर्यटन कार्यालयले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा मन्त्री महराले नेपाललाई सरु पर्दा चीनले खुला हृदयबाट सहयोग गरेको उल्लेख गर्दै नेपालको बारेमा चिनियाँ सञ्चार माध्यमले सकारात्मक सुचना प्रवाह गरेकोमा खुशी प्रकट गर्नुभयो।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदुत च सियाङ्ग लिनले नेपाली सञ्चार माध्यमहरुले पनि आफ्ना प्रतिनिधि चीनमा राखेर चीनको बारेमा सही सुचनाहरु सम्प्रेषण गर्नुपर्ने सुझाव दिनुभयो। राजदुत सियाङ्ग लिनले विभिन्न चिनियाँ सञ्चार माध्यमले नेपालका बारेमा प्रचार प्रसार गरेकै कारणले चिनियाँ पर्यटकहरु नेपाल घुम्न रुचाएको पनि बताउनुभयो।
कार्यक्रममा काठमाडौँस्थित चिनियाँ पर्यटन कार्यालयका प्रमुख तुवानले चीनले सधैँ नेपालसँगको सम्बन्धलाई महत्वमा राखेको बताउनुभयो। आफ्नो कार्यालय आठवर्ष अगाडि काठमाडौँमा खुलेको बताउँदै उहाँले गतवर्ष मात्र भारतमा चिनियाँ पर्यटन कार्यालय खुलेकोले पनि चीनले नेपालसँगको सम्बन्धलाई महत्व र प्राथमिकतामा राखेको औँल्याउनुभयो।
कार्यक्रमको सुरुमा चीनलाई समग्र रुपमा चिनाउने 12 मिनेटको वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो। सो वृत्तचित्रमा चिनियाँ प्रविधि, संस्कृति, रहनसहन, पर्यटकीय स्थल आदिको जानकारी समेटिएको थियो।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|