नेपाल र चीनबीचको व्यापारलाई व्यवस्थित बनाउनु पर्ने कुरामा नेपाल हिमालय सिमापार वाणिज्य संघले जोड दिएको छ । नेपालको छिमेकी मुलुक चीनसँगको व्यापार घाटामा रहेकाले व्यापार घाटा कम गर्नका लागि नेपालमा उत्पादित सामग्रीलाई चीनमा निर्यात गर्नका लागि पनि वाणिज्य संघले आवश्यक कदम चाल्ने भएको छ।
सि.आर.आई.सँग कुरा गर्दै वाणिज्य संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले दुई देशबीचको मुख्य नाका तातोपानी खासालाई अझै व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।
केही समय अगाडि चीनबाट नेपाल आयात गरिएका सामानहरुमा बहुराष्ट्रिय कम्पनीबाट उत्पादित सामानहरु विना स्वीकृति नेपाल ल्याउन खोजिएको भनी चिनियाँ सुरक्षाकर्मीले रोकेको थियो । नेपाली व्यापारीहरुले पनि आफुहरुबाट गल्ती भएको स्वीकार गरी आइन्दा बहुराष्ट्रिय कम्पनीका सामानहरु विना स्वीकृति ल्याएमा चिनियाँ सुरक्षा जाँचले जफत गर्नसक्ने भनी सम्भmौतापछि व्यापार सुचारु भएको थियो।
हाल दशैँपछि तिहारको मौसममा काठमाडौँमा चिनियाँ सामानहरुको माग बढ्ने भएकाले चिनियाँ नाकाबाट दैनिक बढीभन्दा बढी नेपाली यातायातका सामान छोड्नुपर्ने बताउँदै अध्यक्ष श्रेष्ठले यसबारेमा नेपालका अर्थमन्त्री डा. बाबुराम भराई तथा चिनियाँ दुताबासमा पनि कुरा भइरहेको बताउनुभयो। अध्यक्ष श्रेष्ठका अनुसार वाणिज्य संघले दुई देशबीचको व्यापारमा आउने अवरोध हटाउन, नेपाली व्यापारीलाई आफ्ना उत्पादनलाई चीनमा निर्यात गर्न प्रोत्साहित गर्न तथा नीति निर्माण गर्नमा सधैँ सक्रिय रहेको छ।
केही दिन अगाडि तातोपानी उत्सवको उद्घाटन गर्दै अर्थमन्त्री डा. भराईले पनि नेपाल र चीनबीको व्यापारलाई व्यवस्थित गर्नमा सरकार तयार रहेको बताउनुभएको थियो। अर्थमन्त्रीले तातोपानीको नेपाली भन्सारलाई अत्याधुनिक बनाइने तथा दुई देशबीचको व्यापारलाई प्रोत्साहित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको लगत्तै वाणिज्य संघले पनि सहयोग गर्ने बताएको छ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|