 रविः- ध्रुवजी, चीनमा उनन्तीसौं गृष्मकालीन ओलम्पिक तथा तेह्रौ पारालम्पिक खेलकुद प्रतियोगिताहरु सफलतापूर्वक सम्पन्न भएका छन् । तपाईले यसमा कहिलेदेखि नजर पुर्याउनुभएको हो ? यसको तयारीका लागि गरिएका प्रयासहरुका बारेमा आजको कार्यक्रममा श्रोताहरुलाई केही जानकारी दिनुहुन्छ कि?
ध्रुवः- अवश्य रविजी । मैले करिव सात वर्षअघिदेखि नै पैचिङ ओलम्पिकलाई नजिकैबाट नियाली रहेको छु । सन् 2001 को जुलाई 13 तारिखका दिन रुसको राजधानी मस्कोमा बसेको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको 112 औं बैठकले चीनको राजधानी सहर पैचिङलाई उनन्तीसौ गृष्मकालीन ओलम्पिक आयोजना गर्ने जिम्मा दिएको थियो । सो बैठकले 'पैचिङले भिन्नै किसिमको छाप छोड्नसक्ने भएकाले पैचिङलाई नै ओलम्पिक खेलकुद आयोजना गर्न दिइएको'भन्ने निर्णय गरेको थियो। त्यो निर्णयलाई चीन र चिनियाँ जनताले ठूलो विजय उत्सवको रुपमा स्वागत गरे । त्यसताका चीनमा मात्रै नभएर नेपालमा पनि खुशियाली मनाइएको थियो ।

म त्यसताका नेपालमा रहेका चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका श्रोता क्लबहरुको छाता संगठन सीआरआई श्रोता क्लबहरुको राष्ट्रिय परिषद्को केन्द्रीय सदस्य थिए । मलाई अझै पनि याद छ, चीनले ओलम्पिक आयोजना गर्न पाउने खवर सुन्ने बित्तिकै राष्ट्रिय परिषदको बैठक बस्यो । काठमाडौंमा रहेका सीआरआईका धेरै श्रोताहरुले पनि बैठकमा सहभागिता जनाए । हामीले चीन र चिनियाँ जनतालाई बधाई मात्रै दिएनौं, त्यसका लागि पूर्ण बैठकबाट निर्णय गरेर शुभकामना पनि दियौं । 1 अरब 30 करोड चिनियाँ नागरिकहरुसँगै हामीहरु पनि चीनको विजय उत्सवमा रमाएका थियौ । अनि त्यसपछि चीनले खेल सफलरुपमा आयोजना गरेको हेर्न दिन गनेर बसेका थियौ ।
ओलम्पिक खेलकुद आयोजनाको जिम्मा पाएको चीनले त्यसयताका सात वर्ष खेलकुद क्षेत्रको विकासमा ठूलो ध्यान पुर्यायो । ओलम्पिक आयोजनामा कुनै कमी हुन नदिन चीनले गरेको अथक प्रयासका क्रममा १३ अर्ब युआन खर्च गरेर केही नवनिर्माण र केही पुनःनिर्माण गरिएका ३१ वटा रङ्गशाला बनायो । ओलम्पिकको सम्पूर्ण तयारीका लागि चीनले करिब ४० अर्ब अमेरिकी डलर खर्च गर्यो । चीनले यसपालिको ओलम्पिक आयोजना गर्ने अवसर पाएको सन् २००१ कै वर्षेखि रंगशालामात्र होइन, अन्तर्राष्ट्रिय विमानस्थल र सववेदेखि यस महानगरका थुप्रै संरचना निर्माण गर्यो । यही मौकामा पुराना भवनहरू भत्काई नयाँ बस्तीहरू विकास गर्नुका साथै थुप्रै होटलसमेत बढायो । तयारीका क्रममा पैचिङ महानगरलाई हरियाली देखाउन जताततै बागबगैंचा हुर्काइयो। जताततै ओलम्पिकका संकेत, सूचना र स्वागतले राजधानी पैचिङलाई प्रफुल्लित बनाइदिएको थियो ।

विगतमा ओलम्पिक आयोजना देशका निम्ति ठूलो व्ययभार बोकेको आयोजनाका रूपमा रहँदै आएको हो । प्रायः सबै ओलम्पिक आयोजक राष्ट्र खेलपछि ऋणमा डुब्ने गर्थे । जनसंख्याको विशालतासँगै आर्थिक उन्नति पनि तीव्र भएको चीनका लागि ओलम्पिक आयोजनाले आर्थिक समस्या उत्पन्न नहुने अनुमान विज्ञहरूले गरेको छन् ।
|