 ओलम्पिक खेल प्रतियोगिताको उद्घाटन तथा समापन कार्यक्रम आयोजना गरिएको चराको गुँड आकारको दुई लाख 58 हजार वर्ग मिटरमा फैलिएको अत्याधुनिक प्रविधि र भूकम्प प्रतिरोधात्माक क्षमतासमेत रहेको मुख्य रङ्गशाला बर्डस् नेष्टले संसारलाई नै छक्क पार्यो । 330 मिटर लम्बाइ र 220 मिटर चौडाइको 91 हजार जना अट्ने 40 करोड अमेरिकी डलर लगानीको भव्य भवन विश्वका करोडौं नागरिकले खेल उद्घाटनमार्फत टेलिभिजनमा प्रत्यक्ष हेर्नका लागि आतुर थिए । सबै रङ्गशाला तथा खेलस्थलमा अपाङ्ग र अशक्त पनि सहजै पुग्नसक्ने व्यवस्था गरियो, जुन उनीहरुलाई दिइएको एउटा सम्मान हो भन्ने मलाई लागेको छ ।
आ-आफ्ना देशमा सर्वोत्कृष्ठ नतिजा ल्याएका विश्वका करिब १० हजार सात सयभन्दा बढी होनहार खेलाडीहरू ३६ वटा खेलमा नयाँ नयाँ कीर्तिमान बनाउन उद्यत रहे । यसबारेमा श्रोताहरुले हाम्रो रेडियोबाट पनि धेरै कुराहरु थाहा पाउनुभयो होला । यति धेरै खेललाई समावेश गरिएको ओलम्पिक इतिहासमै यो पहिलो अवसर पनि हो ।

पैचिङ ओलम्पिकका लागि आठ लाख चिनियाँहरूले स्वस्फूर्त रूपमा स्वयंसेवक हुन निवेदन हालेका थिए । तर एक लाख जनाले मात्र आफ्नो इच्छा पूरा गर्न पाए । निवेदन दिनेहरूमा 95 वर्षका बूढादेखि सात वर्षका बालबालिका पनि थिए । तीमध्ये धेरैजसोले अङ्ग्रेजी भाषाको प्रशिक्षण लिएका थिए । ओलम्पिकलाई सफलता पूर्वक सम्पन्न गर्नका लागि स्वयम् सेवकहरुले कुनै कमीकमजोरी हुन दिएनन् । उनीहरुले गरेको सेवाबाट विश्वकै खेलाडी, खेलपदाधीकारीहरु मात्रै नभएर दर्शकहरु पनि प्रभावित भए । मैले हेरेका र पढेका विश्वका केही महत्वपूर्ण सञ्चारमाध्यममा यो विषयलाई मुख्य समाचारका प्रस्तुत गरियो । त्यसले राष्ट्रिय प्रतिष्ठा उचोँ बनाउनका लागि चिनियाँहरु कसरी एक जुट भइ खट्न सक्दा रहेछन् भन्ने कुरा बाँकी विश्वका लागि उदाहरणीय नै बनेको कुरा प्रमाणित भएको छ।
पैचिङ महानगरपालिकाले पैचिङलाई स्वच्छ र सफा राख्न, ऊर्जा खपत न्यूनीकरण गर्न र वायु गुणस्तर कायम गर्न महानगरका 33 लाख निजी कारमध्ये आधामात्र गुड्न सक्ने व्यवस्था मिलाएको थियो । त्यसका लागि जुलाई २० तारिखका दिनदेखि ओलम्पिक र पारालम्पिक खेल अवधिभरि जोर र विजोर नम्बरका गाडीहरू पालैपालो चलाउने व्यवस्था गरियो । ओलम्पिक अवधिभर पैचिङ र पैचिङ वरपरका कलकारखानाहरु पूर्णरुपले बन्द गरिए । अनि धुलो र धुवा रोक्न विकास निर्माणका काम पनि ठप्प पारिए । ओलम्पिक खेलका क्रममा पैचिङको आकाश धूलो र धूवाँले ढाकिएको हुनेछ र यो स्थान ओलम्पिकका लागि उपयुक्त हुन्न भन्ने केही आलोचकहरुको भनाइलाई केही महिनाको अवधिमै चीनले गलत सावित गरिदियो । मैले केही अमेरिकी खेलाडीहरुले पैचिङस्थित केन्द्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आउने बित्तिकै मुखमा मास्क लगाएको देखेको थिएँ । तर यहाँको वातावरण स्वच्छ भएको थाहा पाएपछि उनीहरुले केही दिनपछि मास्क लगाउन मात्रै छोडेनन्, त्यसबाट उत्पन्न हुन गएको भ्रम तथा चीन र चिनियाँ जनताप्रति पर्न गएको दुःखप्रति क्षमायाचना पनि गरे ।

पैचिङमा केही महिनाअगाडि नै सार्वजनिक स्थानमा धूमपान निषेध गरियो । पैचिङमा सन् 1998 मा एक सय दिन मात्र नीलो आकाश देखिएकोमा सन् 2007 मा 2 सय 47 दिन सफा आकाश देख्न पाइएको थियो । मैले पनि अनुभव गरेको कुरा के छ भने यसवर्ष त झन् पैचिङको आकाश प्रायः सफा देखिन्थ्यो । बिगत दुई वर्षको तुलनामा यसवर्ष पैचिङमा पानी पनि धेरै पर्यो । पैचिङलाई प्रदूषणबाट मुक्त पार्नका लागि गरिएको अरबौ युवानको खर्च देख्ता चीनले यसको लागि कुनै कसर बाँकी राखेको छैन भन्ने छर्लङ्ग हुन्छ ।
खेल हार-जितका निम्तिमात्र होइन, यसमा सद्भावनाको आधिक्यता हुन्छ। एकअर्काप्रतिको सद्भाव त्यो व्यक्तिभन्दा बढी राष्ट्रका निम्ति हुन्छ। खेलमा निहित यस भावनालाई अन्य पक्षसम्म लैजान सके यसले संसारमा शान्ति तथा सहअस्तित्व कायम गर्न मद्दत पुग्छ । यही भनाइलाई चरितार्थ गर्नका लागि समेत चीनले गरेको तयारीकार्य पूर्णरुपमा सफल भएको मैले अनुभव गरेको छु ।
|