चीनमा उत्पादित सामानहरुको प्रदर्शनी गर्ने उद्देश्यले आयोजना गरिने नेपाल चीन व्यापार मेला आगामी वर्षको अप्रिलमा काठमाडौँमा हुने भएको छ ।
नेपाल चीन कार्यकारी परिषदारा हरेक दुई वर्षमा आयोजना हुने नेपाल चीन व्यापार मेला चौथोपटक हुन लागेको हो ।नेपाल चीन कार्यकारी परिषदका महासचिव राजेन्द्र नकर्मीले सि.आर.आई.लाई बताउनु भए अनुसार अब आयोजना हुने मेला विगतमा भन्दा वृहत बनाउन लागिएको छ । सधैँ नयाँ बानेश्वरको बीरेन्द्र अन्तर्राष्टि्रय सम्मेलन केन्द्रमा आयोजना हुने गरेको नेपाल चीन व्यापार मेला अब भृकुटी मण्डपमा आयोजना हुनेछ । बीरेन्द्र अन्तर्राष्टि्रय सम्मेलन केन्द्रमा संविधानसभाको कार्यालय तथा सभाकक्ष भएको हुनाले व्यापार मेला पहिलोचोटि भृकुटी मण्डलमा आयोजना हुन लागेको हो ।
यसभन्दा पहिले चीनसँग व्यापार गर्ने नेपाली व्यावसायी तथा चिनियाँ कम्पनी र व्यापारीहरुले मात्र भाग लिने गरेपनि अब मेलालाई वृहत बनाइनेछ । व्यापार मेलालाई सार्कस्तरीय बनाउने तयारी हुँदैगरेको महासचिव नकर्मीले बताउनुभयो ।
मेलाको प्रमुख उद्देश्य नेपालमा चिनियाँ सामानको प्रचारप्रसार गर्नु तथा नेपालबाट चीनतफ निकासी हुने नेपाली उत्पादनको चिनियाँ कम्पनीसम्म सूचना पुर्याउनु रहेको छ । यति भएर पनि सार्कस्तरीय कम्पनीहरुले भाग लिएमा नेपाल तथा चीनलाई पनि फाइदा पुग्ने नकर्मीको धारणा छ । नेपालको बाटो भएर चिनियाँ सामानहरु भारत जाने तथा अन्य देशका उत्पादनलाई नेपालको मञ्च प्रयोग गरेर चिनियाँ बजारसम्मको पहुँच विस्तार गर्नु दीर्घकालीन रुपमा फलदायी हुने पनि उहाँले बताउनुभयो ।
यस प्रकारका व्यापार मेलाले नेपाली उत्पादनलाई चिनियाँ बजारतिर आकषित गरी व्यापारघाटा कम गर्ने कुरामा पनि मेलाको अर्को उद्देश्य रहेको नकर्मीले स्पष्ट पार्नुभयो ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|