
चीनका राष्ट्राध्यक्ष हु चिन थाउले हिजो पेरुको राजधानी लिमामा रुसका राष्ट्रपति दमिट्रि मेदभेदेभसँग भेट-वार्ता गर्नुभयो।
वार्ताका अवसरमा राष्ट्राध्यक्ष हु चिन थाउले हाल विश्वको राजनैतिक तथा आर्थिक बनोटमा जटिल तथा ठूलो परिवर्तन भइरहेको कुरा बताउनुभयो। चीन र रुसले अहिले संयुक्तरुपमा प्रयास गरी अन्तर्राष्ट्रिय बैंकिङ संकटबाट पुर्याइएको खराब असरको सामना गर्नुपर्ने, चीन र रुसको अर्थतन्त्रको विकासको राम्रो प्रवृत्तिको संरक्षण गर्नुका साथै अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीमा सुधार गर्नुपर्ने कुरा पनि राष्ट्राध्यक्ष हुले बताउनुभयो।
प्रत्युत्तरमा राष्ट्रपति मेदभेदेभले रुस र चीनले विश्व तथा एशिया प्रशान्त क्षेत्रको शान्ति तथा सुरक्षासम्बन्धी विषयमा रणनैतिक वार्तालाई सबल पार्नुपर्ने कुरा बताउनुभएको छ। चीनसित अन्तर्राष्ट्रिय बैंकिङ संकटको सामना गर्नका लागि वार्ता तथा सहयोगलाई सबल पार्न रुस इच्छुक रहेको कुरा पनि उहाँले बताउनुभयो।
यसका अतिरिक्त, दुई मुलुकका नेतागणले कोरिया प्रायःद्बिपको आणविक समस्यासम्बन्धी छ-पक्षीय वार्ता, उत्तर-पूर्वी एशियाको शान्ति तथा सुरक्षा आदि साझा चासो विषयबारे वैचारिकरुपमा आदानप्रदान गर्नुभयो।
राष्ट्रपति हु चिन थाउले पेरुको भ्रमण पूरा गरी हिजै दिउँसो पेरुको राजधानी लिमाबाट ग्रिसतर्फ प्रस्थान गर्नुभयो।
|