
कार्यक्रम शुरु गर्नुअघि म तपाईंहरुका लागि दुइवटा प्रश्न प्रस्तुत गर्छु। एक: व्हाङ्ग याउ प्राचीन बस्तीको इतिहास कति वर्ष लामो छ? दुइ: कु फो पहाडमा समुद्र सतहदेखि एक हजार मिटरभन्दा अग्लो चुचुरोको संख्या कति छ? ध्यानपूर्वक आजको कार्यक्रम सुन्नुहोला, यी दुइवटा प्रश्नको जवाफ आजको कार्यक्रममा छन।
व्हाङ्ग याउ प्राचीन बस्ती लि च्याङ्ग नदीको तल्लो भागमा पर्दछ जुन क्वाङ्ग सि च्वाङ्ग जातीय स्वायत्त प्रदेशको पूर्वी भागमा रहेको ह चौ शहरको मातहतमा छ। त्यस प्राचीन बस्ती क्वै लिन शहरबाट दुइ सय किलोमिटर टाढा छ। व्हाङ्ग याउ प्राचीन बस्तीको इतिहास एक हजार छत्तीस वर्ष लामो छ। व्हाङ्ग याउ प्राचीन बस्तीको सांस्कृतिक पर्यटन कम्पनीका कर्मचारी चु स्याङ्ग क्वैका अनुसार, व्हाङ्ग याउ प्राचीन बस्तीमा रहेका सबै वास्तुको निर्माण चीनको परम्परागत "हावापानी" नामक शास्त्रबमोजिम गरिएको छ। उहाँ भन्नुहुन्छ: त्यस प्राचीन बस्तीमा एउटा मुख्य सडक छ। अनि त्यस मुख्य सडकबाट आठवटा साँघुरा बाटाहरु चारैतिर फैलिएका छन। आकाशबाट तलतिर हेर्दा व्हाङ्ग याउ प्राचीन बस्ती नाचिरहेको एउटा नाग जस्तो देखिन्छ।
धेरै वर्षअघि व्हाङ्ग याउ प्राचीन बस्ती ज्यादै प्रसिद्ध वाणिज्य बस्ती थियो। त्यति बेला त्यस बस्तीमा बसोबास गर्ने बासिन्दाहरुमध्ये प्रायजसोले ब्यापार गर्नेगरेकाले उनीहरु निकै सम्पन्न थिए। त्यसै कारण व्हाङ्ग याउ प्राचीन बस्तीका पसल, घर, साना मन्दिर तथा अन्य भवनहरुको निर्माण पूराका पूरै कुशलताका साथ गरिएको छ। हाल ती वास्तुहरु व्हाङ्ग याउ प्राचीन बस्तीमा सबैभन्दा विशेषतायुक्त मानवीय दृश्य बनिसकेका छन। श्री चु स्याङ्ग वैले हामीलाई जानकारी दिंदै भन्नुभयो: हाम्रो प्राचीन बस्तीमा चारवटा विशेषता छन। पहिलो, प्राचीनकालबाट छाडिएको रुख हो। दोस्रो, प्राचीन बस्तीमा बगिरहेको स्वच्छ पानी हो। तेस्रो, इंटबाट बनाइएको निकै ठाडो मुख्य सडक र चौथो, प्राचीनकालका सुन्दर कौसी र नाट्य-मञ्चहरु हुन।
व्हाङ्ग याउ प्राचीन बस्तीमा विभिन्न जातिका मानिसहरु बसोबास गर्दछन। त्यहाँका विभिन्न जातिका रङ्गीचङ्गी रीतिरिवाजहरु ज्यादै आकर्षक छन। त्यहाँ पुगेका पर्यटकहरुले प्राचीन बस्तीको विशेषतायुक्त वास्तु-शैलीको अवलोकन गर्नुका अतिरिक्त विभिन्न जातिका रङ्गीचङ्गी रीतिरिवाजको पनि अनुभव गर्नसक्छन।
व्हाङ्ग याउ प्राचीन बस्तीको नजिकै कु फो पहाड अवस्थित छ। त्यस पहाडमा एउटा राष्ट्रिय वनोद्यान पनि छ। त्यस वनोद्यानको प्राकृतिक दृश्य ज्यादै रमणीय छ। त्यस उद्यानको कूल क्षेत्रफल आठ हजार हेक्टर छ। त्यस उद्यान क्वाङ्ग सि, हु नान तथा क्वाङ्ग तुङ्ग यी तीनवटा प्रान्तको सिमा जोडिउको ठाउँमा पर्दछ। त्यस उद्यानमा समुद्र सतहदेखि एक हजार मिटरभन्दा अग्ला चुचुराको संख्या पच्चीस छ। तीमध्ये सबैभन्दा उच्च चुचुरो अर्थात थेन थाङ्ग चुचुराको उचाइ समुद्र सतहदेखि एक हजार आठ सय मिटरभन्दा बढी छ।
हरिया वनले ढाकिएकाले कु फो पहाडमा वायुको गुणस्तर निकै उच्च छ। त्यहाँ अक्सिजनका कणहरुको मात्रा ज्यादै प्रशस्त छ। यसैले कु फो पहाडको राष्ट्रिय वनोद्यानलाई चीनको दक्षिण-पश्चिमी क्षेत्रमा रहेको सबैभन्दा ठूलो प्राकृतिक "अक्सिजन बार" भनिन्छ। वर्षभरि त्यहाँको मौसम निकै राम्रो हुने भएकाले झन-झन बढी पर्यटकहरु आनन्द लिन वा थकाइ मार्नका लागि त्यहाँ जाने गर्दछन। त्यस उद्यानका जिम्मेवार व्यक्ति तङ्ग छोङ्ग लाङ्गले हामीलाई जानकारी दिंदै भन्नुभयो: चीनको मध्य-दक्षिण वन विज्ञान प्रतिष्ठानका विशेषज्ञको सर्भेक्षणअनुसार, कु फो पहाडको वायुमा अक्सिजनका कणहरुको मात्रा एकदमै बढी छ। प्रत्येक ब्यूबिक सेन्टिमिटरमा लगभग दश हजारभन्दा बढी कणहरु मौजुद छन। सबैभन्दा उच्च चुचुरोमा प्रत्येक ब्यूबिक सेन्टिमिटरमा रहेका कणहरुको संख्या पैंसट्ठी हजार आठ सय छपन्न जति छ। शहरमा रहेका अक्सिजनका कणहरुको मात्राको दाँजोमा हामीकहाँ त्यसको दुइ सय अथवा तीन सय गुणा बढी हो।
सुन्दर प्राकृतिक दृश्यका अतिरिक्त, बितेका केही वर्षदेखि यता कु फो पहाडलाई अधिकांश चलचित्र वा टेले-नाटक बनाइने उपयुक्त ठाउँ पनि मानिएको छ। ती चलचित्र वा नाटक प्रसारित भएपछि कु फो पहाड झनै लोकप्रिय हुदैगएको देखिन्छ। मलेशियाका पर्यटक चाङ्ग शङ्ग फङ्ग यसरी भन्नुहुन्छ: मेरो नाम चाङ्ग शङ्ग फङ्ग हो। म मलेशियाबाट आएको हुँ। हंगकंगबाट बनाइएको "जन्मथलोको चिया"नामक टेले-नाटक हेरेपछि म यहाँ आएको हुँ। यहाँको दृश्य ज्यादै रमणीय छ। वायु पनि निकै सफा छ। मेरो विचारमा, यो एकदमै राम्रो ठाउँ हो।
हवस त, श्रोताहरु, आजको कार्यक्रम अब सम्पन्न हुनलागेको छ। अन्तमा म शुरुमा तपाईंहरुका लागि प्रस्तुत गरेका दुइवटा प्रश्न दोहर्याउँछु।
एक: व्हाङ्ग याउ प्राचीन बस्तीको इतिहास कति वर्ष रहेको छ? दुइ: कु फो पहाडमा समुद्र सतहदेखि एक हजार मिटरभन्दा अग्लो चुचुरोको संख्या कति छ? यस पटकको ज्ञानविज्ञान प्रतियोगितामा तपाईं सफल हुनुहोस, मेरो हार्दिक शुभकामना छ!ल त, कार्यक्रमबाट म मेघालाई पनि बिदा दिनुहोस्, नमस्ते!
|