यही डिसेम्बर 9 देखि 11 तारिखसम्म चीनको पैचिङ्गमा सम्पन्न भएको कन्फ्युसियस् इन्स्टिच्युटको तेस्रो सम्मेलनमा भाग लिई नेपाल चीन जनमैत्री परिषदका अध्यक्ष लोकेन्द्र काफ्ले नेपाल फर्कनु भएको छ।
सि.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहनु भएका काफ्ले गत 5 तारिख सो सम्मेलनमा भाग लिन चीन प्रस्थान गर्नु भएको थियो। हिजो सोमबार राति काठमाडौँ फर्किएपछि सि.आर.आई.सँग कुरा गर्दै कन्फ्युसियस् इन्स्टिच्युट को तेस्रो सम्मेलन भव्य रुपले सफल भएको बताउनु भयो। आफूले सो सम्मेलनमा भाग धेरै शिक्षा प्राप्त गरेको र नेपालमा चिनियाँ भाषा तथा संस्कृतिको विकास गर्नका लागि सम्मेलनले धेरै कुरा सिकाए पनि उहाँले व्यक्त गर्नुभयो।
विश्वका विभिन्न राष्ट्रका चारसय पचासभन्दा बढी प्रतिनिधिहरुले भाग लिएको सो सम्मेलनमा काठमाडौँ विश्वविद्यालयको कन्फ्युसियस् इन्स्टिच्युटबाट दुईजना र नेपाल चीन जनमैत्री परिषदले सञ्चालन गर्न लागेको कन्फ्युसियस् इन्स्टिच्युटबाट काफ्ले गरी जम्मा तीनजनाले भाग लिएका थिए।
कन्फ्युसियस् इन्स्टिच्युट हरुका लागि चिनियाँ मन्त्रालय तथा साझेदारी आयोगद्बारा आयोजित सो सम्मेलनमा विभिन्न चारवटा विषयमाथि छलफल भएको थियो। काफ्लेका अनुसार इन्स्टिच्युटको गुणस्तर र गुणस्तर व्यवस्थापन छलफलको पहिलो शीर्षक थियो। त्यसैगरी चिनियाँ भाषाको पाठ्यक्रम निर्धारण छलफलको दोस्रो शीर्षक थियो भने शिक्षा तथा प्रशिषण तेस्रो शीर्षक थिए। छलफलको अन्तिम तथा चौथो शीर्षक चिनियाँ संस्कृति रहेको थियो। सम्मेलन चिनियाँ जनवृहत सभाकक्षामा सम्पन्न भएको थियो।
सि.आर.आई.नेपाली विभागको कन्फ्युसियस् कक्षा सुनेर आफ्नो विद्यालयमा कन्फ्युसियस् इन्स्टिच्युट खोल्न लाग्नु भएका काफ्लेले चीन भ्रमणका अवसरमा सि.आर.आई.नेपाली विभाग तथा प्रथम एसियाली विभागका उच्च पदस्थ अधिकारीहरुसँग पनि दुई पक्षीय छलफल गर्नुभएको बताउनु भएको छ।
सम्मेलनमा भाग लिएर आफूले चिनियाँ भाषा र संस्कृतिलाई अझै नजिकबाट बुझन पाएको र अब नेपालमा पनि चिनियाँ भाषा र संस्कृतिको प्रचार प्रसार गर्ने उहाँले बताउनुभयो।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|