नेपाल र चीनबीचमा कुटनीतिक सम्बन्ध स्थापना भएको 53 वर्ष भएपनि दुई देशबीचमा युगौँ पुरानो घनिष्ट सम्बन्ध स्थापना भएको नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गले बताउनु भएको छ । हिजो साँझ काठमाडौँको र्याडिसन होटलमा चीन अध्ययन केन्द्रारा आयोजित स्वागत रात्रिभोजलाई सम्बोधन गर्दै चिनियाँ राजदूत कोहोङ्गले सो विचार व्यक्त गर्नु भएको हो ।
मञ्जुश्री, भृकुटी र अरनिकोले युगौँदेखि स्थापना गरेको मैत्री सम्बन्धमा दुईदेशले विश्वासयोग्य छिमेकीपन पाएको भन्दै राजदूत कोहोङ्गले भन्नुभयो "दुई देशबीच रहेको मैत्री सम्बन्ध आधुनिक समयमा अझै घुनिष्ट भएको छ । यसले दुवै देशलाई फाइदा पनि पुगेको छ ।" चीन अध्ययन केन्द्रले दुई देशबीचको मैत्री सम्बन्धमा गरेका कार्यको प्रशंसा गर्दै राजदूत कोहोङ्गले भन्नुभयो "नेपाल र चीनबीचको सम्बन्धलाई सर्वधारण जनतामा पुर्याउनका लागि तपाईंहरुले महत्वपूर्ण काम गर्नु भएको छ ।"
नेपाल सरकारले अँगालेको एक चीनको नीति र चीन अध्ययन केन्द्रले वौद्धिक क्षेत्रमा गरेका दुई देशबीचको सांस्कृतिक सम्बन्ध उत्तिकै महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । आफू भरखरै नेपालका लागि राजदूत भएर आएपनि धेरै नेपाली साथीहरुसँग परिचय भएको र सबैले असाध्य माया र सद्भाव व्यक्त गरेकाले आफू नेपाल र नेपालीप्रति झन् अनुग्राही रहेको पनि उहाँले सो अवसरमा बताउनुभयो ।
कार्यक्रम आयोजक संस्था चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीले चिनियाँ राजदूतलाई स्वागत गर्दै उहाँको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझै घनिष्ट हुने आशा प्रकट गर्नुभयो । अध्यक्ष रेग्मीले चिनियाँ राजदूतलाई सफलताको शुभकामना दिँदै सानो र सुन्दर देश नेपालमा स्वागत गर्न पाउँदा आफू र आफ्नो संस्थालाई खुशी लागेको बताउँदै जोड दिनुभयो "नेपालले संवृद्ध र विकसित चीनको अपेक्षा गरेको छ ।"
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|