 रविजीः राष्ट्रिय रंगशालाभन्दा बाहिर देख्नुभएका दृश्यहरुलाई पनि तपाईंले डायरीमा राख्नुभएको छ कि?
ध्रुवः रविजी, २९औँ ग्रीष्मकालीन ओलम्पिकको आकर्षणको अर्को केन्द्रबिन्दु आतसबाजी पनि रह्यो भन्ने मलाई लाग्छ। उद्घाटनका दिन बेइजिङ्का एक हजारभन्दा बढी स्थानमा गरिएको आतसबाजीले चीनको राजधानी मध्यरातमा धपक्क बलेको देखिन्थ्यो । थियन आन मन स्क्वायरबाट बर्डनेस्टसम्मको आकाशमा मानिसको पाइलाजस्तो आकारको आतसबाजी देखेर बर्डनेष्टका दर्शकदीर्घा मात्र होइन थिएन आनमनलगायत शहरका अन्य चोकहरुमा भेला भएका सर्वसाधारणसमेत चकित भएका थिए । ओलम्पिकको पवित्रज्योति सोही बाटो हुँदै ल्याइएकोले त्यसलाई आतसबाजीमार्फत् देखाइएको हो । त्यही आतासबाजी हेर्नका लागि पैचिङमा अध्ययनर दुई दर्जन नेपाली विद्यार्थीहरु साँझ छ बजेदेखि नै विश्व विद्यालयबाट बाहिर निस्किएका थियौ । सबै जना पैचिङ भाषा र संस्कृति विश्वविद्यालयमा भेला भएर पहिला बर्डनेष्ट गयौँ । त्यहाँको भीड देखेपछि हामी सडकसडक हिडेर थियनआन मनतिर गएका थियो । त्यसबेलाको आतासबाजी देखेर हामी नेपाली साथीहरु पनि चकित भएका थियौँ ।

रविजीः ध्रुवजी, उद्घाटन समारोहबाट चीनले के सन्देश दिन चाहेको जस्तो लाग्यो तपाईंलाई?
ध्रुवः चीनले ओलम्पिकको आफ्नो एक मात्र सन्देश शान्ति र एकता भएको बताएको थियो । उद्घाटन कार्यक्रममा पनि यही सन्देश दिइएको आयोजक कमिटीअन्तर्गत उद्घाटन र समापन कार्यक्रम उपसमितिका निर्देशक झयाङ् हेपिङ् बताउनुभएको थियो । ओलम्पिक आयोजनाअघि केही आलोचक मुलुकहरूले पैचिङमा वायु प्रदूषण भएको र चीनमा मानव अधिकार नभएको जस्ता कपोकल्पीत आरोपहरु लगाएका थिए । तर आफै पैचिङ आएर प्रत्यक्षरुपमा उद्घाटन समारोह हेरेका विश्वका कुनै पनि नेता, खेलाडी वा दर्शकले यस्तो नकारात्मक कुराको उच्चारणसम्म पनि गरेनन् । चीनले पटकपटक शान्ति, सद्भाव, एकता र भाइचारालाई विशेष महत्त्व दिइरह्यो । ओलम्पिक सुरु हुनुभन्दा दुई दिनअघि चिनियाँ राष्ट्राध्यक्ष हु चिन थाओले खेलकुदलाई राजनीतिबाट टाढा राखी खेल भावनाले मात्र हेर्न अनुरोध गर्नुभएको थियो । र, उद्घाटन समारोहपछि विश्वले पैचिङ ओलम्पिकलाई राजनीतिबाट टाढै राख्यो, जुन निकै सकरात्मक थियो भन्ने मलाई लाग्छ ।

श्रोताहरु, ओलम्पिक आयोजनामा व्यस्त रहेको चीनले खेल सुरु हुनुभन्दा केही महिनाअगाडि महाभुकम्पको पीडा बेहोर्नुपरेको थियो । पैचिङ ओलम्पिकको उद्घाटन समारोहमा भूकम्पबाट पीडित स छ्वान प्रान्तमा रहेका लाखौँ जनतालाई सारा चीनले भित्री मनबाटै सम्झियो । महाभूकम्पका बाबजुद चिनियाँ जनताले देखाएको अदम्य साहसकै कारण ओलम्पिक आयोजना गर्न चीन सफल भएको हो भन्ने कुरामा कसैको दुई मत होला भन्ने मलाई लाग्दैन । चीनले स छुवान प्रान्तका जनताले ओलम्पिकलाई टेलिभिजनमार्फत् प्रत्यक्ष हेर्न पाऊन् भनेर एक सयभन्दा बढी स्थानमा ठूलठूला पर्दाको व्यवस्था गरेको थियो । त्यसमा ओलम्पिकको उद्घाटन समारोह हेरिहेको स छुवान प्रान्तका सर्वसाधाणको मुहार निकै उज्यालो देखिन्थ्यो ।
|