नेपाल र चीनबीचको मैत्री सम्बन्धमा सक्रिय रहेको संस्था नेपाल चीन कार्यकारी परिषदले आफ्नो पाँचौँ वाषिकोत्सव मनाउने भएको छ । परिषदका अध्यक्ष अनुपरन्जन भट्टराईले सि.आर.आई.लाई बताउनु भए अनुसार नयाँवर्षको सुरुवातसमै परिषदले पाँचौँ वाषिकोत्सव मनाउने तयारी गरेको छ ।
आउने जनवरी महिनाको पहिलो हप्तामा नेपाल चीन कार्यकारी परिषदले नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गको स्वागत गर्दै आफ्नो पाँचौँ वाषिकोत्सव मनाउने तयारी गरेको छ । सो अवसरमा परिषदले विगत चार वर्षमा प्राप्त गरेको उपलब्धीको समीक्षा गर्दै संस्थाले गरेका मुख्य मुख्य गतिविधिलाई चिनियाँ राजदूतसमक्ष प्रस्तुत गरिने अध्यक्ष भट्टराईले बताउनुभयो ।
नेपालका लागि चिनियाँ राजदूत कोहोङ्ग नेपाल आएपछि नेपाल चीन कार्यकारी परिषदले पहिलोचोटी उहाँको स्वागतमा कार्यक्रम आयोजना गर्न लागेको हो । सोही स्वागत कार्यक्रममा आउँदो वर्षको अपि्रलमा हुने नेपाल चीन व्यापार मेलाको घोषणा पनि गरिने अध्यक्ष भट्टराईले बताउनुभयो । विशेष गरी चिनियाँ सामाग्रीको प्रदर्शनी गरिने सो मेलामा पचासजनाको हाराहारीमा चिनियाँ कम्पनी तथा व्यवसायीहरुले भाग लिने भएका छन् । प्रदर्शनीमा नेपालमा उत्पादन भई चिनियाँ बजारमा निर्यात हुने खालका सामग्रीको पनि प्रदर्शनी गरिनेछ ।
नेपाल चीन कार्यकारी परिषदले प्रत्येक वर्ष काठमाडौँमा नेपाल चीन व्यापार मेलाको आयोजना गर्ने गरेको छ । यसका साथै दुई देशबीचमा प्रतिनिधिमण्डलको आदानप्रदान गर्ने, विभिन्न प्रदर्शनीको अयोजना गर्ने क्रियाकलापका साथसाथै दुई देशबीचको व्यापारिक र औद्योगिक सम्बन्धलाई अगाडि बढाउने काममा सक्रियता देखाउँदै आएको छ ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|