नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गले उपराष्ट्रपति परमानन्द झासँग हिजो शिष्टाचार भेट गर्नु भएको छ । हिजो अरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा चिनियाँ राजदूत कोहोङ्ग र उपराष्ट्रपति झाबीचमा 45 मिनेट कुराकानी भएको चिनियाँ दूताबासको प्रेस शाखाले सि.आर.आई.लाई बताएको छ ।
नेपालका लागि राजदूत नियुक्त भएर आएपछि नेपालका उच्च पदस्थ व्यक्तिहरुसँगको भेटघाटका क्रममा चिनियाँ राजदूत कोहोङ्गले उपराष्ट्रपतिसँग भेट गर्नु भएको हो । भेटघाटका क्रममा दुई देशबीचको ऐतिहासिक सम्बन्धका बारेमा चर्चा गरिएको दूताबासले बताएको छ ।
उपराष्ट्रपतिसँगको भेटका क्रममा चिनियाँ राजदूत कोहोङ्गले चीन र नेपालबीचको मैत्री सम्बन्ध युगौ पुरानो रहेको र यसमा संस्कृति, भूगोल, प्रकृति जस्ता साझा कुरा रहेको स्मरण गराउनुभयो । नेपालमा भइरहेको शान्ति प्रक्रिया तथा संविधान निर्माण कार्यमा चीनले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिसकेको पनि चिनियाँ राजदूत कोहोङ्गले सो अवसरमा दोहोर्याउनुभयो । दुई देशबीचको मैत्री सम्बन्धले जनस्तरसम्म जरा गाडेको बताउँदै आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन प्रयत्नशील रहने चिनियाँ राजदूत कोहोङ्गले बताएपछि उपराष्ट्रपति झाले उहाँलाई सफलताको शुभकामना दिनु भएको छ ।
उपराष्ट्रपति झाले नेपालले अशल छिमेकी मुलुक चीनसँगको सम्बन्धलाई इतिहासदेखि नै महत्व दिएको उल्लेख गर्दै नेपालको बिकासमा चिनियाँ सहयोगको प्रशंसा गर्नुभयो । उपराष्ट्रपतिले नेपाली जनता र नेपाल सरकार सँधै चीन र चिनियाँ जनताको हितमा रहेको पनि स्मरण गराउनुभयो । नेपाल सरकारले एक चीनको नीतिलाई समर्थन गर्दै चीनको स्वायत्त प्रदेश तिब्बत र थाइवान मुख्य भूमि चीनका अभिन्न अङ्ग रहेकोमा कुनै दुई मत नरहेको प्रष्ट पार्नुभयो ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|