जनस्तरबाट नेपाल चीन सम्बन्धलाई अझै मजबुत बनाउने उद्देश्यले सिन्धुपाल्चोकको बार्हबीसेमा स्थापित नेपाल चीन समाजको भोलि औपचारिक ढङ्गबाट उद्घाटन हुँदैछ । नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गले प्रमुख अतिथिको रुपमा भोलि बार्हबीसे बजारमा उद्घाटन गर्नुहुनेछ ।
बार्हबीसे काठमाडौँ खासा अरनिको राजमार्गमा पर्ने एउटा मुख्य बजार हो । काठमाडौँ बाहिरको चिनियाँ सामानको महत्वपूर्ण बजारका रुपमा बार्हबीसे बजारलाई लिइन्छ । बार्हबीसेबाट नेपाल चीन मैत्री सम्बन्धलाई जनस्तरमा पुर्याउनका लागि फौदसिंह थापाको नेतृत्वमा नेपाल चीन समाजको स्थापना भएको हो ।
स्थापनापछि औपचारिक उद्घाटन नै नभई यस संस्थाले सक्रियता देखाइसकेको छ । चिनियाँ विदेशमन्त्री याङ्ग चेछीको स्वागत रात्रिभोजमा अरु संस्थाहरुसँग मिलेर संयुक्त आयोजनामा बार्हबीसेको नेपाल चीन समाजले आफ्नो उपस्थिति देखाइसकेको छ ।
नेपाल चीन मैत्री सम्बन्धलाई गैर सरकारी तवरबाट पनि जनस्तरमा पुर्याउन यस खालका मैत्री संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । धेरै संस्थाहरु काठमाडौँमा सक्रिय रहे पनि काठमाडौँ बाहिर पोखरा, भैरहवा, नेपालगंज, चितवन, बिराटनगरजस्ता ठाउँहरुमा मैत्री संस्थाहरु सक्रिय रहेका छन् । अब बार्हबीसेबाट पनि नेपाल चीन मैत्री सम्बन्धलाई जनस्तरमा पुर्याउने काम हुने संस्थापक अध्यक्ष फौदसिंह थापाले सि.आर.आई.लाई बताउनुभयो ।
भोलिको उद्घाटन समारोहमा भाग लिनका लागि नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसनका अध्यक्ष तथा सि.आर.आई. श्रोता क्लबहरुको राष्टि्रय परिषद नेपालका संस्थापक अध्यक्ष एवं प्रमुख सल्लाहकार प्रकाशबाबु पौडेल, अरनिको समाजका अध्यक्ष डा. हरिश्चन्द्र शाह, चीनविज्ञ ताम्ला उक्याब जस्ता प्रवुद्ध व्यक्तिहरु आजै बार्हबीसे प्रस्थान गर्नुभएको छ ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|