 रविजीः- ध्रुवजी तपाईंले उद्घाटनमा देख्नभएको कुराहरु त हामीलाई राख्नुभयो, पैचिङ ओलम्पिकको दौरानमा अन्य कुराले पनि तपाईलाई प्रभावित पारेको छ कि?
ध्रुवः- अवश्य रविजी, सुधार र खुलापन लागू भएको अहिले तीसौं वर्ष पूरा भएको छ । संयोगबस यही वर्ष पैचिङ ओलम्पिक पनि सफलतापूर्वक सम्पन्न भयो । तीव्र आर्थिक वृद्धि गर्दै संसारको चौथो आर्थिक शक्ति हुन पुगेको देशको विकासको साक्षी ओलम्पिक भएको छ भन्ने मलाई लागेको छ । ओलम्पिक संकेतहरूले ठूलो महोत्सव जनाइरहेको संसारको सबभन्दा ठूलो जनसंख्या भएको चीनका लागि ओलम्पिक आयोजनालाई भाग्यको साइतसँग पनि जोडियो । किनभने आठ अंकलाई चिनियाँ नागरिकहरू शुभ मान्छन् र धेरैले यो अंक मन पराउँछन् पनि । यही सन्दर्भमा पैचिङ ओलम्पिक सन् २००८ को आठौं महिना अर्थात् अगस्टको आठौं दिन आठौं मिनेटमा सुरु भएको अवसरलाई चारवटा आठको ऐतिहासिक क्षण मानेका छन् चिनियाँहरुले । अझ अर्को संयोग पनि छ, त्यो के भने ओलम्पिक ज्योति इतिहासमै पहिलोपल्ट गत मे महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुर्याउँदा पनि आठ तारिख परेको थियो ।

श्रोताहरु, यही शुभसाइत पछ्याउँदै अक्टोबर 8 तारिखका दिन पैचिङमा 16 हजार 4 सय दम्पतीले विवाह दर्ता कार्यालयमा पुगेर विवाह प्रमाणपत्र लिए । विवाहको भोज खुवाउन होटल, रेस्टुरेन्टहरू भनेजस्तो ठाउँमा पाउन सकिए । किनभने होटल र रेस्टुरेन्टहरू ओलम्पिक हेर्ने अतिथीहरुले गर्दा भरिभराउ थिए । यसरी विवाहकै अवसरमा भोज खुवाउन नसकेका कैयौं जोडीले भोज पछि खुवाउने वाचा गरेका छन् । विवाह दर्ता कार्यालयले वरबधूहरूको यस्तो लहर बुझेर अगिल्लो दिनको मध्यरातदेखि नै आफ्ना कार्यालयहरू खुला राखेका थिए । त्यसको अलावा अनलाइनमा पनि विवाह दर्ताको व्यवस्था गरिएको थियो । त्यति मात्रै होइन, ओलम्पिकको प्रभाव कतिसम्म परेको थियो भने ओलम्पिक खेलकुद सुरु हुने दिन बिहान पेकिंग युनिभर्सिटीको पहिलो नम्बरको अस्पतालमा बच्चा जन्माउने दम्पतीले आफ्नो नवजात शिशुको नाम 'औ युन' राखे । जसको अर्थ 'ओलम्पिक' हुन्छ ।
रवि जी, त्यसैदिन बिहान बाहिरी वातावरण बुझ्न म मेरो रनमिन विश्व विद्यालयबाट बाहिर निस्कदै थिएँ । विश्व विद्यालयको हुलाक कार्यालयमा युवायुवतीको लामो लाइन लागेको देखेँ । घन्टौं लाइन लागेर उनीहरूले बल्लतल्ल हुलाक टिकट, पोस्टकार्ड, खामजस्ता सामग्री किन्न पाएका थिए । मैले हुलाक कार्यलयको भित्रै गएपछि मात्रै थाहा पाए ती सामग्रीहरुमा हुलाक कर्मचारी 2008 साल 8 महिना 8 तारिखको टाँचा मार्नमा ब्यस्त थिए ।

ओलम्पक उद्घाटनको दिन दिउँसो चीनका राष्ट्राध्यक्ष हु चिन थाओले अतिथि देशहरूका राष्ट्रपति र प्रधानमन्त्रीहरूलाई दिवाभोजमा स्वागत गर्नुभयो र त्यो ओलम्पिक चीनका लागि मात्र नभइ समस्त विश्वका लागि अवसर भएको विचार व्यक्त गर्नुभएको थियो । विभिन्न देश, जातीय समूह र सांस्कृतिक पृष्ठभूमिलाई ओलम्पिक अभियानले एकसाथ उभ्याएर आपसी समझदारी र मित्रता बढाउन र अन्ततः शान्ति र विकासको सत् उद्देश्यमा उल्लेखनीय योगदान पुर्याएको पनि उहाँले बताउनुभएको थियो । उहाँको कुरालाई सबैले सकरात्मक रुपमा लिएको मैले पाएँ । राष्ट्रपति हुले विश्वका यति धेरै पाहुनाहरूलाई स्वागत गर्नुभएको मेरो विचारमा सायद यो पहिलो अवसर थियो । यो राष्ट्राध्यक्ष हुको लागि मात्रै नभएर चीनकै लागि एउटा राम्रो अवसर थियो भन्ने मलाई लाग्छ ।
|