 रविजीः आजको कार्यक्रमको सुरुमा, उद्घाटन समारोह हेर्ने दर्शकहरुका बारेमा बताइदिनुहोस न ?
ध्रुवः विश्वका ८० भन्दा बढी राष्ट्रपति अथवा प्रधानमन्त्रीहरू सरिक भएको उद्घाटन समारोहमा दस हजारभन्दा बढी खेलाडी, खेल अधिकारीबाहेक रंगशालामा उपस्थित दर्शकहरु निकै भाग्यमानी हुन् । किनभने उनीले उद्घाटन समारोहको टिकट चिट्ठाझैं बेलैमा हात पार्न सकेका थिए । यो उद्द्धाटन समारोहको टिकट पाउन यति गाह्रो थियो भन्ने कुरा कसरी थाहा हुन्छ भने नेपालले जम्मा चार वटा टिकटको कोटा पाएको थियो । टिकट नै किनेर यो उद्धान समारोह हेर्न पाउने चार भाग्यमानी नेपालीहरुमध्येका एक हुनुहुन्थ्यो अनुपरञ्जन भट्टराई । नेपाल-चीन कार्यकारी परिषद्को सदस्यसमेत रहनुभएका उहाँलाई मैले पैचिङमा भेट्ने मौका पाएको थिएँ । उहाँ त्यो टिकट पाएर यति धेरै खुशी हुनुहुन्थ्यो कि उहाँले आफ्नो खुशी शब्दमा ब्यक्त गर्न सकिरहनुभएको थिएन ।

हामीजस्तो टिकट किन्न नपाएर वा अन्य कारणले रंगशाला जान नपाउनेहरूका लागि पैचिङ महानगरका विभिन्न २४ वटा मुख्य चोकमा विशाल आकारका 'हाइ डिफिनेसन' टेलिभिजनहरूबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । म चाहिँ समाचार लेखनमा व्यस्त हुनुपरेकाले कोठामा खुम्चिएर टेलिभिजनमा हेर्न बाध्य भएको थिएँ । तर मबाहेक पैचिङमा रहेका सबै नेपाली विद्यार्थीहरु एकै ठाउँमा भेला भएर त्यही हाइ डिफिनेसन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हेरेका थिए । उहाँहरुमध्येका एक सुमन खनालले मलाई बेलाबेलामा फोन गरेर हामी मात्रै होइन लाखौं चिनियाँ तथा विदेशी पर्यटकले बाटो बाटो, चोक चोक र गल्लीगल्लीमा बसेर ओलम्पिक अनुभव लिइरहेको जानकारी दिइरहनुभएको थियो । लाखौको संख्यामा खटाइएको स्वयम् सेवकले गर्दा पैचिङको जुन कुनामा पुगे पनि ओलम्पिकमय देखिन्थ्यो ।
रविजीः- ध्रुवजी तपाईंले उद्घाटनमा देख्नभएको कुराहरु त हामीलाई राख्नुभयो, पैचिङ ओलम्पिकको दौरानमा अन्य कुराले पनि तपाईलाई प्रभावित पारेको छ कि?

ध्रुवः- अवश्य रविजी, सुधार र खुलापन लागू भएको अहिले तीसौं वर्ष पूरा भएको छ । संयोगबस यही वर्ष पैचिङ ओलम्पिक पनि सफलतापूर्वक सम्पन्न भयो । तीव्र आर्थिक वृद्धि गर्दै संसारको चौथो आर्थिक शक्ति हुन पुगेको देशको विकासको साक्षी ओलम्पिक भएको छ भन्ने मलाई लागेको छ । ओलम्पिक संकेतहरूले ठूलो महोत्सव जनाइरहेको संसारको सबभन्दा ठूलो जनसंख्या भएको चीनका लागि ओलम्पिक आयोजनालाई भाग्यको साइतसँग पनि जोडियो । किनभने आठ अंकलाई चिनियाँ नागरिकहरू शुभ मान्छन् र धेरैले यो अंक मन पराउँछन् पनि । यही सन्दर्भमा पैचिङ ओलम्पिक सन् २००८ को आठौं महिना अर्थात् अगस्टको आठौं दिन आठौं मिनेटमा सुरु भएको अवसरलाई चारवटा आठको ऐतिहासिक क्षण मानेका छन् चिनियाँहरुले । अझ अर्को संयोग पनि छ, त्यो के भने ओलम्पिक ज्योति इतिहासमै पहिलोपल्ट गत मे महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुर्याउँदा पनि आठ तारिख परेको थियो ।
|