नेपालको भूमि प्रयोग गरेर हुने चीन बिरोधी गतिविधिप्रति सचेत रहन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आग्रह गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले नेपालको हिमाली क्षेत्रमा राष्ट्र विखण्डनकालीहरु सक्रिय हुँदै गएकाले त्यहाँ चीन बिरोधी हुने गतविधिबारे सतर्क हुनुपर्ने बताउनु भएको हो ।
हिमाली आदिवासीहरुको साझा संगठन हिमाली लोकतान्त्रिक गणतान्त्रिक नागरिक मञ्चको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री प्रचण्डले सो धारणा व्यक्त गर्नु भएको हो । प्रतिनिधिमण्डल आफ्ना माग लिएर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएको थियो ।
विखण्डनकारी तत्वहरुको हिमालमा घुसपैठ नहोस् भन्दै प्रधानमन्त्रीले प्रतिनिधिमण्डलसँग भन्नुभयो "राष्टि्रयतामाथि आँच आउने र छिमेकी मुलुक चीन बिरोधी गतिविधि हुने कुरामा हामी सतर्क हुनुपर्छ ।"
नेपालको वर्तमान सरकारले चीनसँगको सम्बन्धलाई महत्व दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपालको विकासमा चीनले सहयोग गरेको कुरालाई हामीले कहिल्यै बिर्सनु हुँदैन भन्ने कुरामा जोड दिनुभयो । चीनसँगको व्यापारमा विस्तार गर्ने, हिमाली क्षेत्रमा सडक यातायातको विकास गर्ने तथा नेपाली जडीबूटीलाई चीनको बजारमा पठाउन कदम चाल्न सकिने कुरामा उहाँले जोड दिनुभयो ।
हिमाली आदिवासीहरुमा आएको स्वतन्त्रता र स्वायत्तताको जागरणबाट आफू अत्यन्तै उत्साहित भएको उहाँको कथन थियो । प्रधानमन्त्रीसँग भेट गर्न गएको हिमाली आदिवासीहरुको साझा संगठन हिमाली लोकतान्त्रिक गणतान्त्रिक नागरिक मञ्चले हिमाली प्रदेशलाई स्वायत्त प्रदेश घोषणा गर्नुपर्ने, हिमाली राजमार्ग निर्माण गर्नुपर्ने मागमा प्रधानमन्त्री प्रचण्डले सीमा क्षेत्रमा राजनीतिक गतिविधि गर्दा छिमेकी मित्रराष्ट्रलाई आँच पुर्याउन नहुने सुझाव दिनुभएको हो ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|