 रवि- ध्रुवजी नयाँ चीन स्थापना भएको उनन्साठीऔं वार्षिकोत्सवको उपलक्ष्यमा चीनमा एक साता लामो बिदा भएको थियो । कतै घुम्न जानुभयो कि ?
ध्रुव- रविजी, यसपालीको चीनको राष्ट्रिय दिवसको बिदामा म पैचिङबाट केही परको गाउँ ह्वासी छुन गएँ । श्रोताहरुलाई जानकारी दिऊँ- गाउँलाई चिनियाँ भाषामा छुन भनिन्छ । यो ह्वासी छुन अर्थात् ह्वासी गाउँ पैचिङबाट दुई घन्टाको हवाइ यात्राबाट पुगिने ठाउँ रहेछ । चीनको दक्षिणी भागको च्याङ्सु प्रान्तमा पर्ने यो गाउँ चीनको प्रमुख व्यापारिक सहर शाङ्हाईको 110 किलोमीटर पश्चिममा पर्छ । चीनको प्राचीन सहर नानचीङबाट त्यहाँ पुग्न करिब 180 किलोमीटरको दुरी तय गर्नुपर्छ । चीनमा 100 किलीमीटरको दुरी तय गर्न निजी सवारी साधनमा करिब एक डेढ घन्टा मात्रै लाग्ने भएकोले साङ्घाई वा नानचिङबाट त्यो गाउँ त्यति टाढा भन्न मिल्दैन जस्तो लाग्छ मलाई । वास्तवमा रविजी, त्यो गाउँको बारेमा मलाई यति धेरै कुरा भन्न मन लागिरहेको छ नी, सायद एउटै कार्यक्रममा पूरा हुँदैन जस्तो लाग्छ ।

रवि- तपाईं केको सिलसिलामा जानुभएको हो ?
ध्रुव- रविजी, चीन र चिनियाँ जनताले आन्तरिक पर्यटनलाई ठूलो महत्व दिने गरेको मैले पाएको छु । छोटो बिदा होस वा लामो बिदा होस्, चिनियाँहरु घरबाट टाढाटाढासम्म घुम्न गइहाल्छन् । विशेष गरेर चिनियाँहरुको सबैभन्दा ठूलो चाड वसन्त पर्वको बिदामा प्रायः आफन्तजनहरुसँग सँगै बसेर बिदा मनाउने गर्छन् । तर अक्टोबर महिनामा पर्ने चीनको राष्ट्रिय दिवसको सप्ताहब्यापी बिदामा भने अधिकांश चिनियाँहरु घुम्न गएको मैले पाएको छु । यसै सिलसिलामा ह्वासी गाउँले आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले पहिलो पटक अन्तर्राष्ट्रिय पर्यटन मेलाको आयोजना गरेको थियो । चीनमा सुधार र खुलापनको नीति लागू भएको 30 वर्ष पूरा भएको अवसरलाई भब्यरुपमा मनाउने कार्यक्रमको सुरुवात पनि ह्वासी गाउँले सोही मेलामार्फत गरेको थियो । यसैमा भाग लिनका लागि ह्वासी गाउँले हामीहरुको भ्रमणको चाँजोपाँजो मिलाएको थियो ।
रविजी- तपाईं एक्लै जानुभएको हो कि ?
ध्रुव- म एक्लै गएको होइन । मसँग मेरी श्रीमती सँगै गएकी थिइन् । जो अहिले पैचिङस्थित विदेशी भाषा विश्व विद्यालयमा अध्ययन गरिरहेकी छन् । त्यसको साथै पैचिङस्थित नेपाली दूतावासका काउन्सेलर निर्मलराज काफ्ले पनि हाम्रो भ्रमणदलमा सहभागी हुनुहुन्थ्यो । त्यसको अलावा पैचिङमा अध्ययनरत मेरा मित्र चिरन थापा र पुज्य थापा पनि हुनुहुन्थ्यो । मैले नेपालको राष्ट्रिय समाचार समितिको लागि पैचिङस्थित सम्वाददाताको हैसियतमा सहभागिता जनाएको थिएँ भने काउन्सेलर काफ्लेले नेपाली दूतावासको तर्फबाट । अनि मेरी श्रीमती अन्य दुई मित्रहरुले भने नेपाली आगन्तुकको रुपमा मेलामा सहभागिता जनाउनुभएको थियो । अझ मैले त झन्डै भन्नै बिर्सेको रविजी । हाम्रो रेडियोमा आउनुभएका नयाँ नेपाली सहयोगी दाहालजी र सुमेघाजी पनि जानुभएको थियो । हामी नेपालीहरु जम्मा गरेर छ जना थियौँ । तर मेलामा भाग लिनका लागि हामी नेपालीलाई मात्रै बोलाइएको भने होइन रहेछ । कार्यक्रम आयोजकहरुले मलाई दिएको जानकारीअनुसार हामी ६ जना नेपालीसहित विश्वका एक सयभन्दा बढी मुलुक तथा क्षेत्रका 4 सय 60 भन्दा बढी विदेशीहरुलाई सो कार्यक्रममा आमन्त्रण गरिएको थियो ।

रविजी स्रोताहरुलाई हाम्रो गनथन सुन्दासुन्दै गीत सुन मन लागेको होला । आज कुन गीत लिएर आउनुभएको छ तपाईंले ?
रवि- आज मैले एउटा गीत ल्याएको छु ।
ध्रुव- एकैछिन सुनौँ न त यो मीठो गीत ।
|