नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई जनस्तरमा पुर्याउने उद्देश्यले स्थापित चीन अध्ययन केन्द्रले आफ्नो सातौँ साधारण सभा सम्पन्न गरेको छ। काडमाडौँको डिल्लीबजारमा अवस्थित केन्द्रको कार्यालयमा गत शनिबार सो साधारण सभा सम्पन्न भएको हो।
चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीको अध्यक्षतामा भएको साधारण सभाले विभिन्न निर्णय पारित गरेको छ। नेपालमा देखिएको आर्थिक समस्यालाई समाधान गर्नका लागि नेपाल सरकारले चीनसँग विशेष सम्बन्ध बढाउँदै आर्थिक स्तरमा परामर्श गर्नु पर्ने कुरालाई साधारण सभाले माग गरेको छ। त्यसैगरी नेपाल र चीनबीचको पर्यटन व्यवसायलाई अझै उचाइमा पुर्याउनका लागि तथा पर्यटन प्रवर्द्धन गर्नका लागि विशेष कार्यक्रम ल्याउनु पर्ने कुरामा पनि साधारण सभाले जोड दिएको छ।
भगवान गौतम वुद्धको जन्मथलो नेपाल भएको यर्थाथ वस्तुतथ्यलाई चिनियाँ जनतासम्म पुर्याएर लुम्बिनीलाई चिनियाँ पर्यटकको गन्तव्य स्थल बनाउनु पर्ने कुरामा पनि केन्द्रका साधारण सभाले कार्यक्रम अगाडि बढाउने भएको छ। नेपालमा विगत दुई वर्षदेखि चिनियाँ पर्यटक बढिरहेका छन्। यस्तो परिस्थितिमा नेपालमा चिनियाँ गतिविधि बढ्नु र नेपालका पर्यटकीय स्थलको परिचय चिनियाँ जनतासम्म पुर्याउनु पर्ने कुरालाई ख्याल गर्दै केन्द्रले साधारण सभामा विभिन्न विषयवस्तुलाई उठाएको हो।
साधारण सभामा केन्द्रका महासचिव डा. उपेन्द्र गौतमले वाषिक प्रगति विवरण तथा आगामी वर्षको कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष गंगाप्रसाद उप्रेतीले विगतको गतवर्षको आयव्यय प्रस्तुत गर्दै आगामी वर्षका लागि अनुमानित आर्थिक कार्यक्रम प्रस्तुत गर्नु भएको थियो।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|